काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो । भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलुकभित्र, छिमेकमा र विश्वशान्ति र समृद्धिका लागि सक्दो योगदान गरौँ भन्नुभयो ।
निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो । (रासस)
प्रतिक्रिया दिनुहोस