पार्टी कहिल्यै पनि संकटमा छैन : सभापति देउवा

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १२ : २२
पार्टी कहिल्यै पनि संकटमा छैन : सभापति देउवा

file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् ।नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे । 

स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौ ।

पार्टी जीत हारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौँ । त्यसकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’

देउवाले नेता जोशीको निधनले पार्टीले एक क्षमतावान नेता गुमाएको बताए । स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको पनि बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको बताए । 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए । 

प्रतिक्रिया दिनुहोस