संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

विहीबार, १५ चैत्र २०७४, १० : ०७
संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन  हुँदैछ । मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन् ।

अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेको छ ।

निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस