ललिता निवास जग्गा प्रकरण

काँग्रेस नेता गच्छदार अदालतमा उपस्थित नभए पक्राउ पर्न सक्ने

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, ०८ : १७
काँग्रेस नेता गच्छदार अदालतमा उपस्थित नभए पक्राउ पर्न सक्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो ।

गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गच्छदारलाई सुरुमा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै सुनसरीमा म्याद टाँसेको थियो । अदालतले म्याद जारी गर्दा पनि उपस्थित नभएपछि दोस्रोपटक एक महिनाको समयसीमा राखेर म्याद जारी गरेको हो ।

अख्तियारले भने उनीसहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिमाना तथा कैदको माग गरिएको छ । उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् ।

उनले अब अदालतमा उपस्थित नहुनुको कारण पेस गर्न नसकेमा विशेष अदालतले थुनछेक आदेश जारी गर्न सक्नेछ । कोरोना महामारीको कारण देखाएर वा कोरोना संक्रमण पुष्टि भएको अस्पतालको रिपोर्ट पेस गरेमा उनको हकमा हद म्याद थप हुन सक्नेछ ।

बालुवाटार जग्गा प्रकरणमा बिचौलिया शोभाकान्त ढकाल र डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई मात्र थुनामा पठाउने आदेश विशेष अदालतले गरेको थियो । पौडेल भने, ‘सर्वोच्च अदालतको आदेशबाट धरौटीमा रिहा भइसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस