कोरोना संक्रमण तिब्र : उपत्यका प्रवेशमा कडाई

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, ०७ : ५९
कोरोना संक्रमण तिब्र : उपत्यका प्रवेशमा कडाई

काठमाडौं । कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए ।

सोमबार बसेको समितिको बैंठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गरेर मात्र उपत्यका प्रवेश गर्न दिने निर्णय भएको छ ।” यसको लागि स्वास्थ्य सामग्री र किट स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने र जनशक्ति स्थानीय तहले व्यवस्थापन गर्ने उनले बताए ।

यसरी एन्टिजेन परीक्षण गर्दा शंकास्पद लागेमा पीसीआरको लागि स्वाब परीक्षण गरिनेछ । सरकारले सडकमार्ग हुँदै उपत्यका प्रवेश गर्नेको हकमा परीक्षणमा कडाइ गरेको भए पनि हवाई मार्ग हुँदै उपत्यका प्रवेश गर्नको हकमा भने कुनै निर्णय गरेको छैन । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस