भारतको सितामढीं कसरी पुगे बेपत्ता भएका किशोरी सहित ७ बालिका ?

विहीबार, १९ चैत्र २०७७, ०७ : ४७
भारतको सितामढीं कसरी पुगे बेपत्ता भएका किशोरी सहित ७ बालिका ?

जनकपुर । घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई  ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।

सधैंझैं मंगलबार दिउँसो २ बजे सातै जना घाँस काट्न खेततिर लागेको देखिन्छ । घाँस काट्न हँसिया र बोक्न बोरा सबैले लगेका थिए । घरभन्दा करिब १ किमि पूर्वको खेतमा उनीहरूलाई ३ बजेतिर स्थानीयले देखेका थिए । त्यसपछि उनीहरू देखिएनन् । ५–६ बजेसम्म घाँस बोकेर सधैं घर फर्किने उनीहरू मंगलबार अबेलासम्म आएनन् । एउटै टोलका सात जना किशोरी–बालिका रातिसम्म घर नफर्किएपछि बस्तीमा सन्नाटा छायो । अनेक अड्कलबाजी गर्न थालियो । सातै घरमा रातभर रुवाबासी चलिरह्यो । हरेक खेत र आलीमा उनीहरूलाई खोजियो । घरघरमा पुगेर सोधपुछ गरियो तर उनीहरू भेटिएनन् ।

महोत्तरी, भंगहा नगरपालिका–८ धर्मपुरका सातै किशोरी र बालिका बेपत्ता भएको १४ घण्टापछि भारत, विहारको सीतामढी नजिक बुधबार बिहान फेला परे । सीमामा खटिएका भारतीय अर्ध सुरक्षा बल (एसएसबी_ को समन्वयमा भारतको रेल्वे प्रहरीले सीतामढी नपुग्दै उनीहरूलाई नियन्त्रणमा लिएको खबर आएपछि गाउँको सन्नाटा एकाएक रहस्यमा बदलियो । नेपाल प्रहरी प्रदेश २ का प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार मंगलबारै भारततिर छिरेका सातै जनालाई भारतीय प्रहरीको सहयोगमा फेला पारिएको र अबेर रातिसम्म नेपाल ल्याइपुर्‍याइनेछ ।

‘राति नै सीतामढी पुगेको देखिन्छ, कसरी उता गए, बुझ्दै छौं,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘उनीहरू नेपाल आएपछि मात्रै कसरी भारत पुगे र कसले लग्यो भन्ने थाहा हुन्छ ।’ धर्मपुरको एउटै टोलका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षकै रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार अपराह्नदेखि बेपत्ता भएका थिए । अस्मिता कक्षा १२ मा, रिया र ज्योति कक्षा ८ मा, नगिना कक्षा ७ मा र रञ्जना र अर्चना कक्षा ५ मा पढ्छन् ।

मोबाइल र सामाजिक सञ्जालभन्दा परै रहेका यी सातै जना चेली अचानक कसरी बेपत्ता भए ? भारततिर किन लागे ? संशय छ । महोत्तरी प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि उनीहरू आफैं भारततिर गएको देखिन्न । ‘किशोरी–बालिकासँगै अन्य कोही फेला परेका छैनन्,’ महोत्तरी प्रहरीका एसपी दिनेश आचार्यले भने, ‘उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाएपछि कोसँग गएका हुन्, थाहा हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।