हात्तीपाइले रोग निवारणमा चुनौती

रासस

सोमबार, १६ चैत्र २०७७, १२ : २४
हात्तीपाइले रोग निवारणमा चुनौती

सुदूरपश्चिम । सभ्रान्त र हुने खाने परिवारका शिक्षित व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ । सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन नसकेको जनाइएको छ । 

 जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग एक मुख्य जनस्वास्थ्य समस्याका रुपमा देखिएको बताए। ‘‘तराईको अर्को जिल्ला कञ्चनपुरमा आठौं पटकसम्म औषधि खुवाउँदा त्यो जिल्ला निवारण उन्मुख छ, पहाडी क्षेत्रका अन्य सात जिल्लामा निवारण भइसक्यो, धामीले भने,“औषधि खानुपर्ने जनसङ्ख्याले नखाइदिँदा निवारण गर्न समस्या भइरहेको छ ।’’ 

 यो रोगको निवारण हुन नसकेपछि कैलालीमा यही चैत २० देखि ३० गतेसम्म नवौंपटक हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गरिँदैछ । यसअघि कैलाली जिल्लामा आठ पटकसम्म यो रोगविरुद्ध औषधि खुवाइएको थियो । चैत २० गतेवाट शुरु हुने नवौंपटकको अभियानअन्तर्गत जिल्लाका सबै १३ पालिकामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् आठ लाख ५१ हजार जनसङ्ख्यालाई यो रोगविरुद्धको औषधिको चक्की खुवाइदैँछ ।
 
प्रदेशका पहाडी क्षेत्रका जिल्लामा छ पटकसम्म यो औषधि खुवाउँदा रोग निवारण भइसकेको जनाइएको छ । सङ्क्रमणबाट बढी प्रभावित जिल्लाका रुपमा देखिएको कैलालीमा कूल जनसङ्ख्याको झण्डै छ प्रतिशतमा यो रोगको सङ्क्रमण रहेको तथ्याङ्क छ । कूल जनसङ्ख्याको एक प्रतिशतभन्दा कम सङ्क्रमित फेला परेमा यो रोग निवारण भएको मानिन्छ ।  

ग्रामीण क्षेत्रका बासिन्दाले यो औषधि खाने दर शहरी क्षेत्रको तुलनामा बढिरहेको बताइएको छ । दुई वर्ष उमेर माथिका, दीर्घ रोगी, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु कलेजो रोगी, मिर्गौला, छारेरोगीबाहेकका सबैले यो रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ ।
  

प्रतिक्रिया दिनुहोस