पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १५ : ०७
पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

काठमाडौं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । 

नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गर्ने र आगामी पाँच वर्ष भित्र ६ सय ७७ वटा आखाँ उपचार केन्द्र स्थापना गर्ने बताएका हुन् । यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए ।

मोतिबिन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवा सम्बन्धी राष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरिनेपनि महासचिव चन्दले बताए । यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाईल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरीने पनि बताए ।

नेत्रज्योति संघले यस वर्ष अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ । संघको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजङ्ग शाह, अर्विस इन्टरनेशनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

कोभिड–१९ संक्रमणका कारण अहिले नै सम्मान गर्न नसकेको भन्दै अनुकुल समयमा सम्मान गरीने संघले जनाएको छ । नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३५ साल चैत्र १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, १ सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस