भारतले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई रोक्यो ,  नेपालीलाई दोस्रो डोजको चिन्ता

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १३ : ०७
भारतले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई रोक्यो ,  नेपालीलाई दोस्रो डोजको चिन्ता

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई तत्कालका लागि स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारको यो निर्णयको असर नेपालमा पनि पर्ने भएको छ । नेपालले समयमै खोप नपाउने हो भने पहिलो डोज खोप लगाएका धेरैले दोस्रो डोज खोप पाउनेछैनन् ।

भारतमा कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि तत्कालका लागि भारतमै खपत गर्नुपर्ने भएकाले खोप निर्यातमा बाधा पुग्ने र यसले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपको निर्यात आगामी अप्रिलको अन्त्यसम्म प्रभावित हुने बताइएको छ ।

नेपालमा हालसम्म भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज, सरकार आफैले खरिद गरेको १० लाख डोज र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २३ लाख ४८ हजार डोज खोप आएको छ ।

नेपाल सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ । यसमध्ये १० लाख डोज खोप नेपाल आइपुगेको भए पनि बाँकी १० लाख डोज खोप भने सिरमले हालसम्म पनि उपलब्ध गराएको छैन ।

सिरमले केही समय अगाडि मात्रै नेपाल सरकारलाई पत्र पठाएर अपेक्षाअनुसार खोप उत्पादन हुन नसकेकाले समयमै खोप उपलब्ध गराउन नसक्ने जवाफ पठाएको थियो ।

जबकि, ८० प्रतिशत रकम भुक्तानी भइसकेको खोपसमेत समयमै नआउने भइरहँदा नेपाल सरकार भने थप ५० लाख डोज खोप खरिदका लागि प्रक्रिया अगाडि बढाउने क्रममा थियो ।

प्रतिक्रिया दिनुहोस