कुटनीतिज्ञलाई प्रधानमन्त्रीको जवाफ- 'विदेशीका गोप्य एजेन्डाबाट शोषित हुँदैनौ'

मंगलबार, १३ चैत्र २०७४, १६ : १९
कुटनीतिज्ञलाई प्रधानमन्त्रीको जवाफ- 'विदेशीका गोप्य एजेन्डाबाट शोषित हुँदैनौ'

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी नियोगका कुटनीतिज्ञसँगछलफल गरेका छन् ।  मंगलबार  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताए । प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् ।
पछिल्लो एक दशकमा नेपालमा ऐतिहासिक अनुपातमा परिवर्तन भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो परिवर्तनको प्रभाव राजनीतिक क्षेत्रमा मात्र नभएर राष्ट्रिय जीवनको सबै क्षेत्रमा परेको छ । हामी नेपाली हाम्रो लामो तथा गौरवपूर्ण स्वतन्त्र र सार्र्वभौम इतिहासप्रति गर्व गर्छौं । हाम्रा लागि राष्ट्रियता भनेको सार्वभौमिकता, भौगोलिक एकता, स्वतन्त्रता र हाम्रा राष्ट्रिय हितको रक्षा गर्नु हो,’ प्रधानमन्त्रीले भने, ‘ कहिल्यै कुनै बाह्य शक्तिले नियन्त्रण नगरेको देशका नागरिक हुनुका नाताले स्वतन्त्रता, सार्वभौमिकता र अहस्तक्षेप सधैँ हाम्रो मनमा रहेको हुन्छ ।

प्रधानमन्त्री ओलीले भने, अहिले हामी राजनीतिक स्थिरताको युगमा प्रवेश गरेका छौँ । यो स्थितिसम्म पुग्न हामीले ठूलो मूल्य चुकाएका छौँ । हामीलाई विश्वास छ हाम्रा मित्र र हित चाहनेहरुले शान्त, स्थिर र समृद्ध नेपाल हेर्न चाहन्छन् र नेपाली जनताको ऐतिहासिक उपलब्धिमा खुसियाली मनाउन चाहन्छन् । प्रधानमन्त्री ओलीले छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्ने र नेपाली भूमि उनीहरुविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली जनताले वामपन्थीलाई दुईतिहाइ दिनुको कारण नै शान्ति र स्थायित्व भएको स्पष्ट पार्दै अधिनायकवाद नभई आफूहरु प्रजातान्त्रिक मुल्यमान्यताबाट पछि नहट्ने स्पष्ट पारेका थिए ।
“सरकारलाई यो समर्थन हुँदा पनि हामीमा दम्भ छैन,” ज्ञवालीले भने, “हामीले अन्तर्राष्ट्रिय सन्धि सम्झौता अक्षरस पालना गर्छौं । प्रजातान्त्रिक मुल्यमान्यताका आधारभूत सिद्धान्तबाट हामी पछि हट्दैनौं । वामपन्थीको अधिनायकवाद आउँछ भन्ने होइन । प्रजातन्त्रप्रति इमान्दार छौं । विकासमा साझेदार निकायसँग हातेमालो गर्न पनि तयार छौं ।”

 

प्रतिक्रिया दिनुहोस