अमेरिकाबाट फर्केर चितवनमा स्ट्रबेरी खेती

प्रकाश सिग्देल

मंगलबार, १० चैत्र २०७७, १६ : ४८
अमेरिकाबाट फर्केर चितवनमा स्ट्रबेरी खेती

चितवन । भरतपुर महानगरपालिका ५ कैलाशनगरमा व्यावसायिक स्ट्रबेरी खेती गरिएको छ ।  अमेरिकामा कृषि विषयमा मास्र्टस गरेर नेपाल आएका ससन देवकोटा र राजेन्द्र गौतमको टिमले १२ कठ्ठा जग्गामा स्ट्रबेरी खेती गरेको हो । 

स्पेन र भारतबाट १५ हजार बिरुवा नेपाल भित्र्याएर व्यावसायिक रुपमा खेती थालेको र पहिलो वर्ष विभिन्न चुनौतीका बाबजुत पनि आफूहरुलाई उत्साह जगाएको ससन देवकोटाले बताए । १५ हजार बिरुवामध्ये ९ हजार बिरुवा स्पेनबाट र ६ हजार बिरुवा भारतबाट ल्याएर यो खेती थालेको देवकोटा बताउँछन् । अहिले उनको फार्ममा दैनिक सयौँ मानिसहरु भ्रमणका लागि जाने गरेका छन् । प्रतिकेजी ७ सय रुपैयाँका दरले फार्मबाटै स्ट्रबेरी बिक्री हुने गरेको देवकोटाको भनाई छ । 

फार्ममा पुगेर फोटो खिचेर रमाउने संख्या पनि उत्ति नै हुने गरेको छ । आफूहरुले हप्तामा दुई दिन स्ट्रबेरी फार्म अवलोकन गर्न दिने ब्यवस्था गरेको र मानिसहरु जाने, सेल्फी खिच्ने र आफै टिपेर लाने गरेको उनी बताउँछन् ।

यो वर्ष सुरुवातमा बिरुवा भित्र्याउन ढिला भएका कारण आर्थिकरुपमा त्यति धेरै लाभ नभएपनि यसले व्यावसायिक रुपमा भने निकै उत्साह जगाएको देवकोटा बताउँछन् ।  भारतबाट ल्याएको बिरुवाभन्दा स्पेनबाट ल्याएको बिरुवा केही महंगो परेपनि स्पेनका बिरुवाबाट लाभ धेरै लिन सकिने उनको भनाई छ । भारतबाट ल्याएको बिरुवा त्यति राम्रो नभएको, धेरै मर्ने र फल पनि त्यति राम्रो नहुने गरेको देवकोटाले बताए ।

आफूहरुले भक्तपुर, ललितपुर, सुनसरी, चितवन र विराटनगरमा ७ वटा जातको अनु्सन्धान गरेको र अनुसन्धानको रिपोर्टका आधारमा आगामी वर्षबाट किसानलाई बिरुवा उपलब्ध गराउने गरी प्राविधिक काम थालेको देवकोटाको भनाई छ ।  

स्ट्रबेरीको खेती गर्न बढी प्राविधिक ज्ञान चाहिने भएकाले अलि बढी जोखिम रहेको र हतार नगरी बढी ध्यान दिएर काम गर्नु पर्ने उनी बताउँछन् । यो खेती गर्दा लागत भने धेरै लाग्ने उनको भनाई छ । यो खेती समुन्द्री सतहदेखि २२ सय मिटरसम्म जहाँ पनि गर्न सकिने, हल्का खालको माटो र पानीको निकास भएको ठाउँमा यो खेती हुने उनले बताए । 

बाहिरबाट बिरुवा ल्याउँदा प्रतिबिरुवा ५० रुपैयाँसम्म लागत मूल्य परेको देवकोटाको भनाई छ । चितवनको गर्मीमा एक पटक लगाएको बिरुवा १ सिजनका लागि मात्रै हुने हुँदा अब नयाँ बिरुवा भित्र्याउने र यही बिरुवा उत्पादन गर्नेतर्फ आफूहरुले अनुसन्धान केन्द्रित गरेको उनी बताउँछन् ।

आफूले अमेरिकामा ३ वर्ष यसैमा काम गरेकाले आफ्नै देशमा गर्नु पर्छ भन्ने उद्देश्यले आफूहरुले काम थालेको उनको भनाई छ । पछिल्लो समयमा नेपालीमा फलफूल खाने बानीको बिकास भएकाले नेपालमा यो खेतीको ज्यादै सम्भावना रहेको उनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस