प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा

रासस

शनिबार, ०७ चैत्र २०७७, १९ : ५८
प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा

file Photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताउनुभएको हो । उहाँले भन्नुभयो,  “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।” 

सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको छ भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन् । त्यो हेर्नुपर्छ ।”

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गनुभयो । सभापति देउवाले स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जनता मालिक हुन् । नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।” कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उहाँको भनाइ छ । 

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन ।” विना सर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।” अहिलेको समयमा कांग्रेस आफै जुटेर बलियो बन्नुपर्ने उहाँको भनाइ छ । 

कांग्रेसका केन्द्रीय सदस्य एनपी साउत, शङ्कर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताउनुभयो । अहिले देश संकटमा जान लागेको भन्दै उहाँहरुले देशलाई सही बाटोमा हिडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताउनुभयो । राष्ट्रियता, अखण्डता, प्रजातन्त्रलाई आघात नहुने गरी लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्ने उहाँहरुले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस