एमाले-माओवादी एकता

गोकर्ण रिसोर्टमा दुई रातमा बन्यो विधान

पत्रपत्रिकाबाट

मंगलबार, १३ चैत्र २०७४, ०८ : ००
गोकर्ण रिसोर्टमा दुई रातमा बन्यो विधान

काठमाडौं । एकता संयोजन समिति कार्यदलले केन्द्र र प्रदेशमा केन्द्रीय अनुशासन, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग रहने अन्तरिम विधानमा समझदारी भएको छ । केन्द्रीय विभागहरू राख्ने मोटामोटी समझदारी भए पनि नियमावलीबाट व्यवस्थित गर्ने दुवै दलको तयारी छ ।

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो । दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमतिसमेत भएको छ ।

परिषद्लाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि विधान परिवर्तन गर्नेसम्मको अधिकार रहने छ । दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनअघिसम्म दुवै पार्टीका नेता व्यवस्थापनका लागि मात्र कार्यदलमा परिषद् बनाउने समझदारी भएको हो ।

‘कार्यदलमा एकीकृत पार्टीको तहगत सांगठनिक संरचनामा समझदारी भएको छ,’ एमाले सचिव गोकर्ण विष्टले भने, ‘केन्द्रमा राष्ट्रिय प्रतिनिधि परिषद्समेत राख्ने गरी एकीकृत पार्टीको सांगठनिक संरचना निर्माण हुनेछ ।’ उनले केन्द्रीय कमिटीभन्दा तल र प्रदेश संगठनभन्दा माथि राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने समझदारी भएको बताए । कम्युनिस्ट पार्टीमा महाधिवेशनपछि परिषद्लाई शक्तिशाली निकाय मानिन्छ ।

गोकर्ण रिसोर्टमा दुई रात
एकीकृत पार्टीको अन्तरिम विधान काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर नेताहरूले तयार पारेका हुन् । मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन् ।

सोही मस्यौदामाथि अहिले अन्तिम छलफल चलिरहेको छ । एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल तथा माओवादी नेता जनार्दन शर्माले विधान बनाउन रिसोर्टमा दुई दिन दुई रात बिताएको स्रोतले जनाएको छ ।

७० वर्षको उमेर हदमा विवाद
एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् । यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरूसमक्ष लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री–प्रचण्ड छलफल
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनीहरूबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यसअनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस