कर्णाली । विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत दुई दिनसम्म सञ्चालन भएको ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’सम्बन्धी तालिम समापन कार्यक्रममा सोमबार नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरसहित कर्णालीमा निर्माण हुने सम्पूर्ण संरचना पहुँचयुक्त बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए।
प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटीविज्ञ) र पत्रकार सञ्चारकर्मीबीचको छलफलबाट पहुँचयुक्त डिजाइनको आवश्यकता र औचित्यबारे निर्माण गरेको मस्यौदा नगरपालिकामा पेश गर्न भन्दै नगरप्रमुख सुवेदीले सिकेका कुरा सबैका लागि हुने गरी जीवन व्यवहारमा उतार्न सुझाए ।
महासङ्घका अध्यक्ष विष्णुप्रसाद शर्माले पहुँचयुक्त संरचना नितान्त आवश्यक भएको बताए । “अब सेवा प्रदायक हरेक निकायले पहुँचयुक्त वेबसाइट निर्माण गर्नुपर्दछ”, अध्यक्ष शर्माले भने, “हामीले तत्काल कर्णालीका वीरेन्द्रनगर तथा लेकबेँसी नगरपालिका र गुराँस तथा सिम्ता गाउँपालिकालाई पहुँचयुक्त पालिका निर्माणमा जोड दिँदैछौँ ।”
उनले कर्णालीमा हालसम्म दोभाषे जनशक्ति नहुँदा अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको गुनासो पोखे । अपाङ्गता भएका व्यक्ति रमेश केसीले कागजमा लेखिएको अधिकारले अपाङ्गताका समस्या हल नहुने भन्दै कार्यान्वयतर्फ जोड दिन सरोकारवालालाई आग्रह गरे । प्राविधिकद्वय रोशनी शाही र विशेष शर्माले तालिमले सर्वमान्य सिद्धान्तमा आधारित भएर संरचना निर्माण गर्न नौलो सीप प्रदान गरेको र परम्परागत नभई पहुँचयुक्त संरचना निर्माणमा जान आँखासमेत खुलेको प्रतिक्रिया दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदता मिलन बगाले र ‘हामीलाई पनि समावेश गर’ परियोजनाका संयोजक विमल पौडेलले पहुँचयुक्तताको सर्वव्यापी सिद्धान्तबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षकद्वयले पहुँचयुक्तताको विश्वव्यापी सिद्धान्तसँग सम्बन्धित न्यायोचित प्रयोग, प्रयोगमा लचकता, सरल र सहज पहुँच, इन्द्रीयगोचर (प्रत्यक्ष÷स्पष्ट) सूचना, त्रुटिप्रति सहिष्णुता, न्यून बलको प्रयोग, पहुँच र उपयोगका लागि आकार एवं स्थानका बारेमा प्रष्ट्याएका छन् ।
तालिममा अपाङ्गता भएका व्यक्ति ९बहिरा०लाई प्रशिक्षकद्वय दिलमाया गुरुङ (पोखरा) र स्मृति योगी (दाङ)ले साङ्केतिक भाषाबाट तालिममा उठेका विषय तथा सवालको अनुवाद गरेका थिए । उक्त तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ चैत्र २०७७, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु
कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु