भरतपुर महानगरको सक्रियता

भरतपुरमा रोड डिभाइडर, पुलमा बत्ती बल्यो, बजार व्यवस्थित बनाइँदै

सोमबार, १२ चैत्र २०७४, ११ : ३३
भरतपुरमा रोड डिभाइडर, पुलमा बत्ती बल्यो, बजार व्यवस्थित बनाइँदै

चितवन । नारायणगढ र भरतपुर बजार क्षेत्रलाई व्यवस्थित बनाउने काममा भरतपुर महानगरपालिकाले आफ्नो सक्रियता बढाएको छ । महानगरपालिकाले सडक बत्तीहरुको मर्मत गरेर पहिले बत्ती नबलेका ठाउँमा बत्ती बाल्न सुरु गरेको छ भने भरतपुर क्षेत्रमा सडक डिभाइडर राखेर अव्यवस्थित सडकलाई व्यवस्थित बनाएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सिंगो भरतपुर महानगरलाई सुन्दर र व्यवस्थित शहर बनाउने परिकल्पना साकार पार्न अहिले भरतपुर र नारायणगढ बजार क्षेत्रलाई व्यवस्थित बनाउने काम सुरु गरिएको बताउनु भयो । उहाँले सुन्दर महानगर सबैको चाहना भएकोले यसलाई पूरा गरिने र त्यसको लागि सडक प्रयोगकर्ता, सवारी चालक, यातायात व्यवसायी र महानगरवासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

भरतपुरको चौबीसकोठीदेखि सीएमसी शिक्षण अस्पतालसम्मको क्षेत्रमा रोड डिभाइडर राखेर सडक यातायातलाई एकातर्फी बनाई व्यवस्थापन गरिएको छ । भरतपुर महानगर प्रमुख दाहालले सडक दुर्घटना न्यूनीकरण र सडकको व्यवस्थापनका लागि रोड डिभाइडर राखिएको र यसले सडक प्रयोगकर्तालाई सहज बनाएको बताउनु भयो ।

व्यवस्थित बन्दै नारायणगढ

नारायणगढ बजार क्षेत्र र नारायणी पुलमा रहेका सडक बत्ती नियमित रुपमा बल्न थालेका छन् । नारायणगढ बजारलाई व्यवस्थित बनाउन भरतपुर महानगरपालिकाले सक्रियता बढाएसँगै पुल र बजार क्षेत्रमा बिग्रिएर नबल्ने अवस्थामा रहेका बत्ती मर्मतपछि बल्न थालेका हुन् ।

पुलचोकदेखि लायन्सचोकसम्मको १२ वटा पोलको २४ वटा बत्ती र नारायणी नदी पुलमाथिको १५ वटा पोलमा रहेको १५ वटा बिग्रिएको बत्ती नयाँ फेरिएसँगै बत्ती बलेपछि रातको समयमा नारायणगढ बजार क्षेत्र झलमल्ल बनेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डितले महानगर प्रमुख रेनु दाहालको निर्देशन अनुसार बिग्रिएका सडक बत्ती बनाउने काम भएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष पण्डितका अनुसार धेरैजसो नयाँ बल्व फेरिएको छ भने केही बिग्रिएको तार र होल्डर मर्मत गरिएको छ । नारायणी पुलमाथिको पोलमा रहेको बत्ती लामो समयबाट नबल्दा हिँडडुलमा समस्या परेको थियो । बत्ती बलेसँगै सडक दुर्घटना र चोरी तस्करी लगायत आपराधिक घटना न्यूनीकरणमा पनि टेवा पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो । ‘विशेषगरी नारायणी पुलमाथि हुनसक्ने जोखिम केही हदसम्म भएपनि न्यूनीकरणमा सहयोग मिल्नेछ’ उहाँले भन्नुभयो, ‘आकस्मिक दुर्घटनालाई कम गर्न पुलको नारायणगढतर्फ प्रहरी बिट खडा गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस