इराकी हिंसामा नौ जना मारिए

आइतबार, ११ चैत्र २०७४, १६ : ३५
इराकी हिंसामा नौ जना मारिए

बग्दाद । इराकको किर्कुक र दियाला प्रान्तमा शनिबार भएका छुट्टा छुट्टै दुई आकस्मिक हिंसात्मक घटनामा परी नौ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाँच जना अर्धसैन्य बल हसद साबीका लडाकू र अरु चारजना आमनागरिक रहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

किर्कुकमा हसद साबीका पाँच जना लडाकूको शव भेटिएको सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । उनीहरुलाई बन्दुकधारीले तीन घण्टाअघि अपहरण गरेका थिए । पाँचै जनाको शव हतकडी लगाएको, आँखामा पट्टी बाँधेको र टाउकोपछिको भागमा गोली लागेर प्वाल परेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

त्यसैगरी इराकको पूर्वीप्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) लडाकूले हिम्रिन क्षेत्रमा सडकमा गुडिरहेको एक सर्वसाधारणको कारमा गोली प्रहार गरेपछि अर्काे हिंसात्मक घटना भएको थियो । आक्रमणमा परेको कारमा सवार चार जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना महिला र अर्का एक बच्चा रहेका छन् । त्यसमा परी अरु दुइजना घाइते भएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस