देउवाले जसपाका शीर्ष नेतालाई बोलाए बूढानीलकण्ठ , सत्ता समीकरणको लागि छलफल

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १२ : २७
देउवाले जसपाका शीर्ष नेतालाई बोलाए बूढानीलकण्ठ , सत्ता समीकरणको लागि छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको जानकारी दिए । देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्ने भएका छन् । 

त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ ।वर्तमान केपी ओली सरकार टिकाउन वा विस्थापित गर्न जसपा निर्णायक भनेका बेला देउवाले ओली सरकार विस्थापनका लागि अग्रसरता बढाएको बूढानीलकण्ठ स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोजेका बेला नयाँ सरकार बनाउन देउवाले पनि सहकार्यको हात फिँजाएको बुझिएको छ । 

विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् । काँग्रेस सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए ओली सरकार विस्थापित गरेर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने पक्षमा देखिएको छ । अहिलेसम्म नयाँ सरकार निर्माणमा मौन देखिएका देउवा सक्रिय हुन थालेको छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए । सत्ता सहकार्यबारे जसपाले ओली र देउवा–प्रचण्डसँग छलफल गरिरहेको छ ।सत्ता गठबन्धनमा जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएको पाइन्छ ।