आईपीओमा लगानीकर्ताको दिनप्रतिदिन चाप बढ्दै, डिम्याट खाता खोल्नेको संख्या साढे ३१ लाखभन्दा बढी

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १४ : ५५
आईपीओमा लगानीकर्ताको दिनप्रतिदिन चाप बढ्दै, डिम्याट खाता खोल्नेको संख्या साढे ३१ लाखभन्दा बढी

काठमाडौं । शेयर बजारमा प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासन हुने शेयरमा १८ लाखभन्दा बढीको आवेदन पर्न थालेको छ ।

पछिल्लो समय आईपीओ निष्कासन गरेको ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बताएको छ ।ती आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो । 

उक्त कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । 

उक्त कम्पनीको आईपीओको लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यसअघि महिला लघुवित्तको आईपीओमा करीब १६ लाखको संख्यामा आवेदन परेको थियो । 

धितोपत्रको प्राथमिक बजारमा न्यूनतम १० कित्ता बाँडफाँटको नीति लागू भएदेखि आवेदकको संख्यामा वृद्धि हुँदै गएपनि पछिल्लो एक वर्षदेखि यो संख्या उल्लेख्य मात्रामा बढ्दै गएको देखिन्छ । र योक्रम गत वर्ष नेपाल पुनर्बीमा कम्पनीले जारी गरेको प्राथमिक शेयर निष्कासनको समयदेखि लगानीकर्ताको संख्या केहि बढीमात्रामा वृद्धि भएको हो । 

उक्त कम्पनीको आईपीओमा ३ लाख ९१ हजारभन्दा बढीको आवेदन परेको थियो । उक्त कम्पनीको आईपीओ माग गर्ने सबैले पाएका थिए । 
आवेदकले कम्पनीको शेयर न्यूनतम ५० देखि अधिकतम ६० कित्तासम्म पाएका थिए । 

एक वर्षअघि करीब ४ लाख आवेदक रहेको अवस्थामा हाल १८ लाखको संख्यामा आवेदन पर्न लागेपनि शेयर पाउनका लागि भाग्य भरोसामै बस्नुपर्ने अवस्था छ । नेपाल पुनर्बीमा कम्पनीपछि हालसम्मकै सर्वाधिक कित्ता आईपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर सबै आवेदकले पाएका थिए । उक्त कम्पनीको शेयर बढीमा ५० कित्तासम्म वितरण गरिएको थियो । 

धितोपत्र सार्वजनिक निष्कासनमा सबै आवेदकलाई १० कित्ता बाँडफाँटको नीति विसं २०७४ साल साउन १ गतदेखि लागू भएपश्चात सबैभन्दा पहिलो हिमालयन पावर पार्टनर लिमिटेडले आईपीओ बाँडफाँट गरेको थियो । उक्त कम्पनीको आईपीओमा १ लाख ६३ हजार ७३७ जना योग्य आवेदक रहेका थिए ।

प्राथमिक बजारमा न्यूनतम १० कित्ताको नीति लागू भएसँगै सार्वजनिक निष्कासनमा आवेदन दिंदा सीआस्वा सेवा पनि अनिवार्य भएको हो । परिवारभित्र एकै जनाको नामबाट धेरै कित्ताको माग गर्नुभन्दा प्रत्येक सदस्यको छुट्टाछुट्टै आवेदनबाट शेयर पर्ने सम्भावना बढेसँगै आईपीओमा आवेदकको संख्यामा ऐतिहासिक रेकर्ड कायम भएको हो ।

हितग्राही खाता खोल्नेको संख्या साढे ३१ लाखभन्दा बढी भइसकेकाले पछिल्ला दिनमा आवेदकको संख्या अझै बढ्न सक्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस