नवलपरासी। विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् ।
नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेडसँगको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा शेयर बजारमा सुरक्षित लगानी गर्न कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताए । उनले व्यवसायको प्रवर्द्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताए ।
'लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो,' उनले भने, 'लगानीकर्ताले शेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उनले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । ब्रोकरहरूले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै शेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उनले निर्देशन दिए ।
'शेयर बिक्री गर्ने व्यक्तिलाई ब्रोकरले शेयर बेचेको चार दिनभित्र पैसा भुक्तानी गर्नुपर्छ,' उनले भने, 'यदि कसैले भुक्तानी गरेको छैन भने हामीकहाँ जुनसुकै माध्यमबाट उजुरी दिनुभयो भने हामी तत्काल कारबाही गर्छौं ।
शेयर खरिदकर्ताले समेत आफूले खरिद गरेको शेयरको भुक्तानी भोलिपल्ट नै तिर्नसमेत उनले आग्रह गरे । बजार बुझेर लगानी गर्दा लगानी डुब्ने सम्भावना नहुने भन्दै अरुको उक्साहटमा नलाग्न समेत पौडेलको आग्रह छ ।कार्यक्रममा स्रोत व्यक्ति एवं स्टक मार्केटका विद्यावारिधि शोधकर्ता कुलचन्द्र पण्डितले शेयर बजारमा मुनाफा आर्जन गर्न लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको बताए।
अधिकांश लगानीकर्ता चाँडै कमाउने भनेर शेयर बजारमा आउने गरेका भन्दै पाँच वर्षको अध्ययन गर्दा तीन प्रतिशत लगानीकर्ताले मात्रै कमाउने गरेको पण्डितले बताए । 'पाँच वर्षसम्म शेयर बजारमा टिकेका व्यक्तिमध्ये तीन प्रतिशतले कमाउँछन्, आठ प्रतिशत बराबरीमा रहन्छन् तर ८९ प्रतिशत लगानीकर्ताले गुमाउँछन्,' उनले भने, 'लगानी गर्न लागेको कम्पनीको बारेमा अध्ययन गरेर लगानी नगर्दा धेरैले गुमाउनुपर्ने अवस्था छ ।'
शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उनले बताए । नेपालको शेयर बजार हल्लाका कारण घटबढ हुने गरेको भन्दै यस देशको राजनीति स्थिर भएको अवस्थामा लगानी डुब्ने सम्भावना कम हुने बताए ।शेयर बजारमा लगानी गरेपछि निरन्तर किनबेच गरिरहेको अवस्थामा मात्रै कमाउन सकिने भन्दै लागनीकर्ताहरूमा अनुशासन हुनुपर्ने पण्डितको भनाइ छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले पैसा बैंकमा राख्नभन्दा शेयरमा लगानी गर्न अथवा आफैँ उद्यमी बन्न नगरवासीलाई आग्रह गरेका थिए ।कार्यक्रममा सहभागीले राखेका जिज्ञासा धितोपत्र बोर्डका निर्देशक पौडेलले समाधान गरेका थिए । कार्यक्रममा गैँडाकोटभित्रका उद्यमी तथा लगानीकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार ७ दिनको गिरावटपछि नेप्सेमा सामान्य वृद्धि
शेयर बजारमा सामान्य वृद्धि, कारोबार साढे ६ अर्ब माथि