कुमाता कथासङ्ग्रह तेस्रो संस्करणमा

रासस

बुधबार, २६ फागुन २०७७, १३ : २५
कुमाता कथासङ्ग्रह तेस्रो संस्करणमा

चितवन ।  चितवनका पत्रकार एवं कथाकार वसन्त पराजुलीको  कथा सङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । एक वर्षअघि आजैका दिन सार्वजनिक भएको कुमाता कथा सङ्ग्रहलाई तेस्रो संस्करण प्रकाशन गर्ने निर्णय भएको भुँडीपुराण प्रकाश प्रालिले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्वारा जारी विज्ञप्तिमा एक वर्षमा तेस्रोपटक पुस्तक प्रकाशन गर्न लेखकसँग लिखित सहमति भएको जनाइएको छ । कथा सङ्ग्रहको तेस्रो संस्करणको  आवरण नयाँ कलरमा छापिने पनि प्रालिले जानाएको छ ।

भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कुमाता कथा सङ्ग्रह २०७६ फागुन २६ गते पहिलोपटक प्रकाशन भएको हो । यसको दोस्रो संस्करण २०७७ असारमा प्रकाशन भएको थियो । 

चितवन साहित्य परिषद्को चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार, राउन्ड टेबुल गसेफ हेटौँडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको स्रष्टा सम्मानबाट सम्मानित भएको कुमाता कथा सङ्ग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताए।

पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकाले पाठकहरुले यसलाई मन पराई दिनुभएको बताए । 
 

प्रतिक्रिया दिनुहोस