एमाले मै फर्किएपछि माधव नेपालसँग किन गरिन चिनियाँ राजदुतले भेट ?

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, ०८ : ३६
एमाले मै फर्किएपछि माधव नेपालसँग किन गरिन चिनियाँ राजदुतले भेट ?

काठमाडौं । सर्वाेच्च अदालतले नै नेकपाको एकतालाई बदर गरिदिएपछि अन्तत प्रचण्डसँग भारी मन लगाएर ओली प्रवृतिसँग एमालेमै रहेर अन्तरसंर्घष गर्ने भन्दै मुलघरमा फर्किएका वरिष्ठ नेता माधव नेपालसँग चिनियाँ राजदुत योङ यान्छीले भेट गरेकी छिन् ।

प्रतिनिधीसभा पूनस्थापना पछि पनि नेकपाको एकतामा बढी जोड दिदै केही नेताहरुसँग भेटघाटमा दौडिएकी राजदुत यान्छी अदालतले नेकपाको एकतालाई बदर गरिदिने अर्काे निर्णय सुनाएपछि भने अलमलमा परेकी थिइन् ।

अब के हुन्छ नेपालको राजनीतिक भविश्य ? अनि नेपालको सरकार ? भन्ने विषयमा केन्द्रीत रहेर राजदुत यान्छीले अहिले निक्कै चासो दिईरहेकी छिन् । त्यही क्रममा उनले मंगलबार साँझ वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी हुन् । ‘समसमायिक विषयमा छलफल गर्न राजदुत यान्छी वरिष्ठ नेता नेपालको निवास आउनुभएको र त्यही अनुसारको छलफल भएको हो,’ नेपाल निकट स्रोतले भन्यो । साँझ ५ बजे यान्छी नेपाल निवास कोटेश्वर पुगेकी थिइन् । उनले त्यहाँ नेपालसँग झण्डै एक घण्टा भेटवार्ता गरेकी थिइन् ।

प्रधानमन्त्री केपी ओलीको प्रवृतिका कारण नेकपा दुई कित्तामा विभाजित थियो । एउटा कित्तामा ओली अध्यक्ष थिए भने अर्काे कित्तामा प्रचण्ड र माधव नेपाल अध्यक्ष थिए । ओलीलाई प्रचण्ड र माधव नेपाल पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । तर अदालतले ऋषि कट्टेलले माग दाबी गरेको भन्दा अगाडी बढेर नेकपाको एकतालाई नै बदर गर्ने सम्मको राजनीतिक फैसला गरेपछि अन्ततः अदालतको निर्णय अनुसार नेपाल पक्ष एमालेमै फर्किनुपर्ने अवस्था आईलागेको थियो ।

त्यसपछि प्रचण्ड पक्षसँग अन्तिम बैठक गरेर एमालेमै फर्किएको नेपाल पक्ष अब एमालेमा ओलीसँग कसरी मिलेर जान सक्छन् ? भन्ने विषय अहिले निक्कै चासोका साथ हेरिएको छ । पार्टीभित्र कसरी जाने ? ओली प्रवृतिसँग कसरी जुध्ने भन्नेमा नेपाल पक्ष दिनहुँ अहिले छलफलमा छ । त्यही क्रममा राजदुत यान्छीले नेपालसँग भेटवार्ता गरेकी हुन् ।

सरकारमा माओवादी केन्द्रले साथ छोडिदिने बित्तिकै अल्पमतमा पर्ने सरकार एमालेभित्रकै अन्तरसंर्घषमा कुनै फेरबदलको अवस्था हुने नहुने देखि माधव नेपाल पक्षको अबको रणनीति लगायतका विषयमा यान्छीले सामान्य रुपमा बुझन चाहेकी थिइन् ।

त्यसक्रममा यान्छीले नेपाललाई सकभर दुई कम्युनिष्ट पार्टीबीचको एकता , नभएपनि संयुक्त सहकार्य लगायतका विषयमा यान्छीले चासो राखेकी थिइन् । नेपालले भने तत्काल यो सम्भावना टरेर गएको, तर पनि आफ्नो पक्षबाट एमालेभित्र निरन्तर संर्घष गरिरहने र माओवादी केन्द्रसँगको एकताका लागि पहलकदमी बढाईरहने बताएको स्रोतले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस