ट्रम्पको निर्णयले दक्षिण कोरियामा नयाँ त्रास फैलाउँदै ?

आइतबार, ११ चैत्र २०७४, १३ : ००
ट्रम्पको निर्णयले दक्षिण कोरियामा नयाँ त्रास फैलाउँदै ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन बोल्टनलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गराउने निर्णय सुनाएका छन् । यस खबरबारे एसियाली मुलुकका तर्फबाट भने चिन्ताजनक प्रतिक्रिया आइरहेको बताइएको छ । उत्तर कोरियाको समस्या समाधानका लागि सैन्य बलको प्रयोग गर्न प्रोत्साहन गर्दै आएकाले पनि ट्रम्प र किमबीचको ऐतिहासिक भेटवार्ता अघि बोल्टनलाई नियुक्त गर्नु उपयुक्त नहुने भन्दै यस खबरको आलोचना गरिएको हो ।

ट्रम्प र किम बीच तय भएको ऐतिहासिक बैठक अहिले विश्वकै सबैभन्दा संवेदनशील मुद्दा भएकाले पनि उनलाई नियुक्त गर्नु उचित निर्णय नभएको विश्लेषकहरुको भनाइ छ । यो भन्दा अगाडि बोल्टन पूर्वराष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा राज्यको हतियार नियन्त्रण कार्यायलका उपसचिव र अमेरिकाका राजदूत रहिसकेका छन् । त्यस समयमा पनि उत्तर कोरिया विरुद्ध कडाइका साथ प्रस्तुत भएका बोल्टनलाई कोरियाको राष्ट्रिय संचारले नियमित आलोचना गर्दै ‘दानव प्रवृत्तिको मान्छे’ भन्ने अभिव्यक्ति समेत दिएको थियो ।

गत फेब्रुअरीमा मात्र उनले वालस्ट्रिट जर्नलमा ‘चाँडो भन्दा चाँडो अमेरिकाले उत्तर कोरियाविरुद्ध सैन्य बल र हतियारको प्रयोग गर्नुपर्छ’ भन्ने उल्लेख गरेका थिए । अमेरिकाका सहयोगी मुलुकहरुले समर्थन नगरेपनि समय खेर नफालि अमेरिकाले नै पहिलो हमला गर्नुपर्ने उनको मान्यता रहेको बताइएको थियो । त्यसकारण विश्लेषकहरुहरुले समेत उनको आगमनले उत्तर कोरियासँगको वार्तामा नयाँ चुनौती थप्ने निश्चित रहेको बताएका छन् ।

गतवर्ष आफ्नो भूभागमा भएको हमला अझै भुल्न नसकेको जापानले पनि उत्तर कोरियासँगको खतराबारे सचेत रहेर वार्ता प्रक्रिया अघि बढाउन आग्रह गर्दै आएको छ । जापानमा रहेका अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गर्ने धम्की दिँदै आएकाले पनि अमेरिका र दक्षिण कोरियालाई सकारात्मक नतिजा ल्याउन जापानले लगातार दबाब दिइरहेको छ । उता एउटै सिमाना जोडिएको दक्षिण कोरिया पनि उत्तर कोरियाको निशानामा भएकाले २ करोड जनताको सुरक्षालाई लिएर दक्षिण कोरिया गम्भीर चिन्तामा छ ।

त्यसकारण यी सबै जोखिमलाई अन्त्य गर्ने उद्देश्यले राष्ट्रपति मुन जे इन लगातार उत्तर कोरियासँग शान्तिपूर्ण सहमतिमा आउने प्रयास गरिरहेका थिए । यस्तोमा अनेकौँ कोशिशपछि अन्त्यमा अमेरिकासँग समेत कूटनीतिक सम्बन्ध सुधार्ने मौका प्राप्त भएकै बेला ट्रम्पले यस्तो निर्णय लिनुले अहिलेसम्मको सबै उपलब्धि व्यर्थ हुन जानेमा दक्षिण कोरियालाई सबैभन्दा ठूलो चिन्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।

अर्कोतर्फ ट्रम्पले भने उत्तर कोरियामाथि नियन्त्रण पाउनकै लागि बोल्टनलाई छनौट गरेको हुन सक्ने बताइएको छ । यसका साथै ट्रम्प र बोल्टनको सोचाइ पनि धेरै विषयमा मिल्ने हुँदा उनले आफूसँग सहमति जनाउने राजनीतिज्ञसँगको सहकार्यमा उत्तर कोरियाको मुद्दा सुल्झाउन खोजिरहेको विज्ञहरुको भनाइ छ ।  तर अर्कोतर्फ भने उनको आगमनले  ट्रम्पलाई पुनः उत्तर कोरियामाथि पहिलो हमला गर्न प्रोत्साहन गर्न सक्ने डर पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस