वाग्मती स्तरीय कराते प्रतियोगिता चैतमा हुने

रासस

मंगलबार, २५ फागुन २०७७, १४ : ५०
वाग्मती स्तरीय कराते प्रतियोगिता चैतमा हुने

बनेपा । काभ्रे कराते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा वाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ ।

यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड–१९ को प्रभावका कारण स्थगित भएको थियो ।खेलमार्फत समय अनुकूल अझ सबल र सक्षम खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटक आकर्षण वृद्धि हुने जनाइएको छ ।

प्रतियागितामा महिला र पुरुष गरी दुई विधामा खेल हुने आयोजकले जनाएको छ । आयोजना संयोजन गर्ने संस्था नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष प्रताप वैद्यका अनुसार महिलातर्फ सातवटा समूह ४० केजीदेखि ६८ केजी तौल समूहका अतिरिक्त काटा र पुरुषतर्फ ४५ केजी तौल समूहदेखि ७५ र सोभन्दा माथि खुल्ला तथा काटा गरी आठ समूहमा स्पर्धा हुनेछन् ।

प्रतियोगितामा प्रदेशभित्रका एक जिल्लाबाट तोकिएको एउटा तौल समूहमा भाग लिन आउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगितामा १३ जिल्लासहित आयोजक संस्थाका गरी १४ समूहका करीब २१० जना खेलाडीहरुले सहभागिता रहने छ ।

प्रतियोगितका लागि करीब २२ लाख ८७ हजार खर्च लागत अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कुवेर मानन्धरले जानकारी दिए ।बनेपाको लायकु मञ्चमा हुने प्रतियोगिताका लागि सबैजसो खेलाडीहरुको छनोट भइसकेको सङ्घका उपाध्यक्ष राजेशकुमार श्रेष्ठले बताए ।
 

प्रतिक्रिया दिनुहोस