‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक

रासस

आइतबार, २३ फागुन २०७७, १२ : ३९
‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक

काठमाडौं । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ । यसअघि राजभण्डारीको ‘पाश्चात्य कला : संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ । 

चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गर्नुभएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त राजभण्डारी नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत हुन् ।

सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको  पुस्तकमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढङ्गले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे ।

उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अङ्गिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे। 

प्रा डा अभि सुवेदीले पश्चिमी कलाका बारेमा नेपालीमा खासै पुस्तक नलेखिएकाले सो पुस्तक निकै महत्वको भएको बताए । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको तथा कलाका विभिन्न शैलीलाई तथ्यपरक ढङ्गले पुस्तकमा चित्रण गरिएको विचार व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस