‘सरकारमा गए आफ्नै नेतृत्व हुनुपर्ने’

शनिबार, २२ फागुन २०७७, ०७ : ३१
‘सरकारमा गए आफ्नै नेतृत्व हुनुपर्ने’

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले अरु दलको नेतृत्वमा सरकारमा जान नहतारिन नेतृत्वलाई सुझाव दिएका छन् । सरकार बन्ने भएमा कांग्रेस आफैंले नेतृत्व लिनुपर्ने भन्दै सांसदहरूले प्रतिनिधिसभामा दुइतिहाई नजिक रहेको कम्युनिस्ट पार्टीका कारण मुलुक गलत दिशामा गएको निष्कर्ष निकालेका छन् ।

दलको बैठक दुई कम्युनिस्ट पार्टी अब प्रतिनिधिसभामा कसरी अघि बढ्छन् पर्ख र हेरको रणनीतिमा केन्द्रीत भएको छ । कांग्रेस संसदीय दलको शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवमा बसेको बैठकमा सहभागी सांसदहरूले अहिलेको अवस्थामा कांग्रेसले सरकारलाई प्राथमिकता दिन नहुने भन्दै आवश्यकता देखिएमा मुलुकलाई निकास दिने निर्णय गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीको दुईतिहाई नजिकको सरकारले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको, जनजीविकाका सवालहरूलाई बेवास्ता गरेको र प्रतिपक्षलाई पेलेर लैजाने रणनीति बनाएको भन्दै पार्टी नेतृत्वले सत्ताको आशमा गलत निर्णय नगर्न दबाव दिए । अधिकांश सांसदले नेकपाका दुवै समूह कांग्रेसका लागि बराबर भएपनि सैद्धान्तिक रूपमा ओलीसँगको सहकार्य गलत हुने धारणा राखे ।

दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै सांसदहरूलाई सत्ता समीकरणका कुरा नउठान र संसदमा प्रतिपक्षको प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सुझाव राख्न निर्देशन दिएका थिए । बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओलीसँग सहकार्य गर्न नहुने बताए । सांसदहरू भरतकुमार शाह, राजन केसी, देवेन्द्रराज कँडेललगायतले ओलीसँग सहकार्य गर्न नहुने बताए । उनीहरूले सत्ता सहभागितको कुरा उठाएउँदा देउवाले त्यस विषयमा प्रवेश नगर्न भनेको थिए ।

संसदीय दलका सचेतकसमेत रहेकी पुष्पा भुसाल गौतमले सरकारले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधानसमेत मिचेको बताइन् । उनले तीन वर्षमा सरकारले गरेको जनभावना विपरीतका निर्णयहरूलाई कांग्रेसले चुनावी मुद्धा बनाउनुपर्ने बताइन् । उनले सत्तामा जाने विषय प्राथमिकतामा राख्न नहुने बताइन् ।

सांसद गगनकुमार थापाले भने कांग्रेसले अहिले सत्ताको आश भन्दा दुई वर्षपछिको निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । केहीले सरकारमा जानै नहुने बताए भने धेरैले ओलीसँगको सहकार्य नगर्न सुझाव दिए । केही सांसदहरूले बाहिरै बसरे सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखे । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस