चिसापानी घोलमा एकाबिहानै भेटियो मरेको पाटेबाघ

शनिबार, १० चैत्र २०७४, १५ : ५४
चिसापानी घोलमा एकाबिहानै भेटियो मरेको पाटेबाघ

चितवन । दुर्लभ वन्यजन्तु पाटेबाघको पोथी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पर्ने खोरसोरदेखि दक्षिणतर्फ चिसापानी घोलमा आज बिहान मृत अवस्थामा फेला परेको छ । खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरले बताउनु भयो ।
मृत बाघ राप्ती नदीमा आधा शरीर पानीमा डुबेको अवस्थामा मृत भेटिएको बाघको टाउको, भुँडी र गालामा गम्भीर चोट देखिन्छ । डा. कमल गैरले कुनै अर्को बाघसँग जुधेर घाउ भएको हुनसक्ने बताउनु भयो । घाउको संक्रमणले गर्दा बाघ मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । मुचुल्का उठाएर बाघको शव पोष्टमार्टमका लागि निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको छ ।
पछिल्लो बाघगणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा बाघ रहेका छन् । चालु आर्थिक वर्षमा बाघ मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा कालगतिले चर वटा बाघ मरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस