कांग्रेसको नैतिकताले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न  दिदैन: रामचन्द्र पौडेल

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, ११ : ४१
कांग्रेसको नैतिकताले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न  दिदैन: रामचन्द्र पौडेल

चितवन ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

बिहीबार बिहान नारायणगढ क्षेत्रपुरमा नेपाल प्रेस युनियन चितवन शाखालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने,‘केपी ओलीले देशलाई, व्यवस्थालाई र संविधानलाई जोखिममा पार्नुभयो । त्यसैले ओलीलाई सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’

नेता पौडेलले दाहाल–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिने बताए । ‘यसमा बरु पोजेटिभ हुन र छलफल गर्न सकिन्छ,’ पौडेलको भनाइ थियो ।

नेता पौडेलले कांग्रेस सरकारमा किन जाने, के गर्न जाने र के हैसियतमा जाने भन्ने बारेमा पार्टीभित्र छलफल भएर निर्णयमा पुग्नुपर्ने बताए । उनले यो बेला कांग्रेस अरुको खेलौना बन्नबाट जोगिनु पर्ने धारणा राखे ।

‘अहिले नाजुक र संकटपूर्ण स्थिति छ । यसबाट पार लगाउन कांग्रेसबाहेक अरुले भूमिका खेल्ने हैसियत छैन । कांग्रेसले अरुलाई सहयोग गरेर पनि पार लगाउन सक्छ ।

कांग्रेसले आफू मात्र हुनु पर्दछ भनेर सोच्यो भने पनि कांग्रेस फेरि भूमिकाविहीन हुन सक्दछ,’ नेता पौडेलले भने । उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्‍याए कांग्रेसको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

‘सबै विषयमा पार्टीमा राम्रो छलफल गरौं । फेरि पनि भूमिकाविहीन हुने र अरुको खेलौना बन्न सक्दछ । यस्तो नहोस्,’ पौडेलले भने । संवैधानिक आयोगमा सरकारले असंवैधानिक ढंगले नियुक्ति दिएको हुँदा त्यो खारेज हुनु पर्ने उनले बताए ।


 

प्रतिक्रिया दिनुहोस