महोत्तरीमा खानेपानीको सङ्कट

शनिबार, १० चैत्र २०७४, १२ : २८
महोत्तरीमा खानेपानीको सङ्कट

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका वस्तीमा धमाधम इनार र चापाकल सुक्नथालेपछि लाग्दो चैतको दोश्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।

बर्दिवास–८ हाथीलेटको बिजयवस्तीमा ५५ घरका बीच रहेको एउटा इनार पनि चैतको दोश्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । ‘पहिले÷पहिले पनि इनार त सुक्थे’ बिजयवस्तीकी गृहिणी नुरमाया बिकले भन्नुभयो– ‘जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्नथालेका छन् ।’
त्यसैगरी यसै सातामै बर्दिवास नगरपालिका–६ र ७ को किसाननगरका मनहरीपुर, कृष्णपुर, जुरेटोल र फुलबारीटोलका इनार पनि धमाधम सुक्दैछन् । बर्दिवास–७ कै प्रेमनगर, बर्दिवास–९ को टोकीटोल र पशुपतिनगर एवम् छिमेकको भङ्गाहा नगरपालिका–४ रामनगरका इनार सुक्न थालेकाले यसपाली खानेपानीको सङ्कट चैतमै पर्ने छाँट देखिएको पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकत्र्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ ।

पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सम्झदै बर्दिवास–६ कृष्णपुरका अवकास प्राप्त शिक्षक ७० वर्षीय अमरबहादुर दर्लामीेले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताउनुभयो । इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर वस्तीकै किसान भरतराज बरालले बताउनुभयो ।

पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्नथालेका लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादब बताउनुहुन्छ । ‘प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले समयमा पानी नपर्ने, जलाधार सुक्ने समस्या बढेका छन्’ यादबले भन्नुभयो–, ‘यो प्रभावले खडेरी, अनाबृष्टि र अतिवृष्टिको चपेटाले हाम्रा समस्या बढेका हुन् ।’  (रासस)

प्रतिक्रिया दिनुहोस