भानु जन्मस्थल पुनः सङ्घीय सरकार मातहतमा

रासस

आइतबार, १६ फागुन २०७७, ११ : ३९
भानु जन्मस्थल पुनः सङ्घीय सरकार मातहतमा

काठमाडौं । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह मातहत राखिएको विकास समितिलाई पुनःसङ्घीय सरकार मातहत राखिएको हो । शुक्रबार भएको निर्णयसँगै भानु जन्मस्थल विकास समितिको सम्पूर्ण जिम्मा अब सङ्घीय सरकारले गर्ने तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

 “स्थानीयस्तरबाट पनि जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग भइरहेको थियो, लामो समयको प्रयासपछि उक्त कामले सार्थकता पाएको छ,” श्रेष्ठले भने । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय सरकार मातहत आएको विकास समितिलाई सङ्घ सरकार मातहत नै राखेर थप व्यवस्थित बनाउनुपर्ने आवाज उठेको थियो । 

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विकास समितिलाई नगरपालिका मातहत राखिएको परिपत्र मन्त्रालयबाट प्राप्त भए पनि आफूहरुले यसलाई सङ्घ सरकार मातहत नै राख्न पटकपटक ध्यानाकर्षण गराएको बताए । यसअगाडि जन्मस्थल विकास समितिलाई सङ्घ सरकार मातहत नै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराइएको थियो । 

भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन छ । समितिमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त हुुनुभएको छैन । भानुभक्त आचार्यको स्मृतिमा शिखरकटेरीमा रामायण भवन निर्माण भए पनि कसले संरक्षण गर्ने भन्ने द्विविधा रहँदै आएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा रामायण भवन निर्माण भएको छ ।  शिखरकटेरीमा निर्माण गर्ने भनिएको भानुगृहको काम भने हालसम्म अगाडि बढ्न सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस