हवाई कारबाहीमा नौ जना आइएस लडाकू मारिए

शुक्रबार, ०९ चैत्र २०७४, १८ : ११
हवाई कारबाहीमा नौ जना आइएस लडाकू मारिए

काबुल । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शुक्रबार बिहान कम्तीमा नौ जना इस्लामिक स्टेट, आइएसका लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले शुक्रबार जनाएको छ ।

“सुरक्षा फौजले तालिबान लडाकूलाई लक्षित गरी युद्धक विमानबाट आक्रमण गरेको थियो त्यसमा परी नौ जना इस्लामिक स्टेट् मारिएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ । हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, सङगीन र मार्जाह जिल्लामा गएको बुधबार पन िहवाई कारबाही भएको थियो। त्यसमा परी २९ जना तालिबान लडाकू मारिएका थिए ।
सुरक्षाकर्मीले लडाकूका हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । यस घटनाका बारेमा तालिबान लडाकूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

लिबियामा आइएस आतंककारी पक्राउ
यसैबीच प्राप्त अर्काे एक समाचारमा लिबियामा बम विस्फोट र आत्मघाती आक्रमणमा संलग्न रहँदै आएका इस्लामिक स्टेट्सका पाँच जना लडाकू पक्राउ परेका बताइएको छ । लिबियाली गृह मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ ।

ती आतंककारीले सुरक्षा अधिकारी र सरकारी कार्यालयमा कारबम र आत्मघाती आक्रमण गर्ने तयारी रहेका लिबियाली गृह मन्त्रालयका विशेष सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका ती आतंककारीले लिबियाको विभिन्न सहरमा आक्रमण गरेको स्विकार पनि गरिसकेका छन् । उनीहरु पक्राउ परेको विषयमा आइएस लडाकू समूहले भने केही बताएको छैन ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस