अन्यायपूर्ण तरिकाले सडक विस्तार गराईएको भन्दै पीडितहरुको विरोध

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १३ : २३
अन्यायपूर्ण तरिकाले सडक विस्तार गराईएको भन्दै पीडितहरुको विरोध

काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताए ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाई छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरुलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरुको रिहाईको माग सहित कानूनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताए ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताए । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरु भत्काएको बताए ।

वर्षौदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानूनी रुपमा पनि आफुहरुको जित भएको भएपनि राजनीतिक कारण आपूmहरुको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताए ।

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरु रिहाई नभए र विस्थापित भएका परिवारहरुको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस