शुक्रबार नेपालगञ्ज विमानस्थलमा वृहत आपतकालीन पूर्वअभ्यास गरिने

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १६ : ४२
शुक्रबार नेपालगञ्ज विमानस्थलमा वृहत आपतकालीन पूर्वअभ्यास गरिने

काठमाडौं । नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार यो अवधिमा विमानस्थल बन्द हुनेछ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो । विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुन्छ ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस