कविलास रिसोर्टमा प्रगती समीक्षा कार्यक्रम सुरु

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १६ : ३०
कविलास रिसोर्टमा प्रगती समीक्षा कार्यक्रम सुरु

चितवन । जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा विहीबारबाट कविलास रिसोर्ट भरतपुर २९ मा प्रगती समीक्षा कार्यक्रम थालिएको छ । विहीबार र शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यलयहरुमा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष ०७७/७८ को अर्धवार्षिक प्रगति समीक्षा हुने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।

समीक्षा कार्यक्रमको राष्टिय सभा सदस्य पार्वती रावलले उद्घाटन गरिन् । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाई तिन वटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताइन् । पाँच÷दस लाखका योजनामाग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीय तहहरुलाई थप शसक्त बनाउन जरुरी रहेको बताइन् । स्थानीय तहहरुवीच समन्वयमा नीतिगत समस्याहरु रहेको भन्दै प्रमुख अतिथि रावलले सरकारले व्यवबहारिक कानुनका पक्षमा ध्यान दिनुपर्ने बताइन् । 

जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाका कारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहज बन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको बताए । केही सरकारी कार्यालयको कार्यक्रमहरु जिल्ला समन्वय समितिसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले त्यसको नियमित अनुगमन गर्ने गरिएको प्रमुख डल्लाकोटीले बताए । 

पहिलो दिनको सत्रमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सडक विभाग, पूननिर्माण प्राधिकरणको शिक्षा, भवन र निजी आवास, वन कार्यालय, शिक्षा समन्वय इकाई, पूर्वाधार विकास कार्यालयलगायतले आफ्नो गत वर्षको वार्षिक एवम् यस वर्षको अर्धवार्षिक नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।

उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विजय सुवेदी, गीता वाग्ले, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिका कार्यबाहक प्रमुख बिमला दुवाडी, इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । 

जिल्ला समन्वय समिति चितवनको उपप्रमुख मुना श्रेष्ठले समीक्षा कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गरेकी थिइन् । सरकारी कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गत आव ०७६/७७ वार्षिक प्रगति समीक्षा र चालु आव ०७७/७८ को अर्धवार्षिक समीक्षा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस