युरिया मलको पहिलो खेप बंगलादेशबाट आइपुग्दै

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १६ : २३
युरिया मलको पहिलो खेप बंगलादेशबाट आइपुग्दै

काठमाडौं । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेट्रिकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ ।

पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ता आइपुगेको र शनिबारबाट नेपाल पठाउन उक्त मलको अनलोड सुरु हुने कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी विष्णु पोख्रेलले बताए । ‘मल पहिलो खेप कलकत्ता आइपुगेको छ अब भोलिबाट नेपाल ल्याउन अनलोड सुरु हुन्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।

कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ । भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्ने कम्पनीले जनाएको छ ।

बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो । दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस