काठमाडौँ । प्रतिनिधिसभा चुनावबाट दुई तिहाइ मतसहित ५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको नेकपा ३ वर्षमै दुईतिर बाँडिएपछि अब सत्ता सञ्चालनका लागि दुवै पक्षलाई अर्को पार्टीको साथ चाहिने भएको छ ।
संसदीय दलको सालाखाला आँकडाअनुसार केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षलाई कांग्रेसको साथबिना सरकार बनाउन निकै जटिल छ । त्यसमाथि प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसद्को सामना गर्ने निर्णय गरेपछि नेकपा, संसद्भित्रको समीकरण र सत्ता साझेदारीको आगामी अवस्था प्रस्ट भइनसके पनि त्यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने देखिएको छ ।
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै नेकपा पनि पुस ५ गतेअघिकै अवस्थामा पुगेको छ । निर्वाचन आयोगमा दलको आधिकारिकतासम्बन्धी विचाराधीन समस्या पनि अहिले नेकपाको संसदीय दलमै सरेको छ । त्यसैले नेकपाको संसदीय दलमा के हुन्छ भन्ने नै अहिलेको जटिल र महत्त्वपूर्ण विषय बनेको छ । बुधबार दुवैतिरका नेकपाले छुट्टाछुट्टै बैठक बसेर परिस्थितिको मूल्यांकन गरे । त्यसपछि ओली समूहले प्रस्टै लाइन दिइसकेको छ भने दाहाल–नेपाल समूह धरमरमा देखिन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको नेकपा ओली समूहका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठक र दिउँसो प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिअनुसार उनले सर्वोच्चको आदेशअनुसार संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछन् तर एकपटक प्रतिनिधिसभामा मुकाबिला नगरेसम्म प्रधानमन्त्री पदबाट राजीनामा दिने छैनन् ।
‘मेरो विचारमा भोलिरपर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देऊ, राजीनामा देऊ । त्यतापट्टि चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हार्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ । जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो,’ ओलीले भनेका छन्, ‘अहिलेको सरकार छ । सरकार रहन्छ ।’
आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग परामर्शमा पनि ओलीले तत्काल राजीनामा नदिने र सबै कुराको छिनोफानो प्रतिनिधिसभाबाटै गर्ने निचोड निस्किएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक