भूमाफियाको चलखेल

पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण

शुक्रबार, ०९ चैत्र २०७४, १३ : ५३
पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण

चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौमा करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा भएको छ ।

रत्ननगर–९ मा पूर्ववनमन्त्री विक्रम पाण्डेले कुनै अर्को व्यक्तिसँग खरिद गरेको एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा फिर्ता गरिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले बताउनु भयो । मन्त्री पाण्डेले खरिद गर्नुपूर्व उक्त सार्वजनिक जग्गा स्थानीय एक व्यक्तिले अनाधिकृतरुपमा आफ्नो नाममा पास गरिसकेका थिए ।

रत्ननगरको सार्वजनिक जग्गा पूर्वमन्त्री पाण्डेदेखि भूमाफिया समेतले अनाधिकृतरुपमा आफ्नो नाममा बनाएको पाइएको छ । रत्ननगर–९ मा पूर्वमन्त्रीले र रत्ननगर–७ मा भूमाफियाले अनाधिकृतरुपमा जग्गा आफ्नो नाममा पास गरेको पाइएको नगर प्रमुख नारायण वनले बताउनु भयो ।

वडा नं. ७ मा करिब एक बिघा जग्गा काठमाडौंका भूमाफियाले आफ्नो नाममा पास गरेको जग्गा पनि नगरपालिकाले फिर्ता गरेको छ । उक्त वडाको जग्गा विवाद भएपछि भूमाफियाले नगरपालिकाविरुद्ध अदालतमा मुद्दा हालेको मुद्दा जितेर नगरपालिकाले सार्वजनिक जग्गा भूमाफियाबाट फिर्ता गराउन सफल भएको रत्ननगर प्रमुख वनले बताउनु भयो ।

यस ठाउँमा करिब १० कठ्ठा सार्वजनिक जग्गा रहेको र त्यसको व्यवस्थापन गरी पार्किङस्थल बनाउने योजना रहेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिनुभयो । यो जग्गालाई व्यवस्थापन गरी पार्किङ स्थलसँगै सार्वजनिक शौचालय र व्यावसायिक सटर बनाउने नगरपालिकाको योजना छ ।

जग्गा संरक्षण अभियान

मेयर नारायण वन, उपमेयर विमला दुवाडी, सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठसहित समितिका सदस्यहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुंगाना, रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलगायत व्यवसायीको उपस्थितिमा डोजर लगाएर सार्वजनिक जग्गा संरक्षण सुरू गरिएको छ ।

भूमाफियाहरुले सार्वजनिक जग्गा अतिक्रमण गरी बेचबिखनसमेत गर्न थालेपछि नगरपालिकाले कडाइका साथ जग्गा संरक्षण सुरू गरेको हो । नगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी रेखाङ्कन गर्ने र अधिग्रहण गर्ने काम सुरू गरेको नगरपालिका प्रमुख वनले बताउनु भयो । उहाँले सार्वजनिक जग्गा संरक्षण गरी विकासका पूर्वाधार निर्माण गरिने बताउनु भयो ।

‘भूमाफियाले कब्जा गरेको जग्गा हामी फिर्ता गराउँदैछौं’ उहाँले भन्नुभयो, ‘कब्जा गरिएको जग्गा फिर्ता गरेर त्यसमा सार्वजनिक भवन निर्माण गर्नेछौं ।’ उहाँले सार्वजनिक जग्गामा बसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्वजनिक शौचालय, पार्किङस्थल तथा विश्रामस्थल बनाउने योजना रहेको जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनपछि रत्ननगर कार्यपालिकाको पहिलो बैठकले सार्वजनिक जग्गाको संरक्षण गर्ने निर्णय गरेको थियो । सार्वजनिक जग्गा संरक्षण समितिले करिब एक वर्षमा नगरपालिकाभित्रका १६ वटै वडामा सार्वजनिक जग्गा खोज्ने र रेखाङ्कन गर्ने काम गरेको छ । अहिलेसम्म नगरभित्र २५ बिघा सार्वजनिक जग्गा पहिचान भइसकेको समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘सार्वजनिक जग्गाको क्षेत्रफल अझै बढ्ने सम्भावना देखिएको छ’ श्रेष्ठले भन्नुभयो, ‘हामी अरु सार्वजनिक जग्गा पनि खोज्दैछौं । एउटै वडामा १० बिघासम्म सार्वजनिक जग्गा फेला परेको छ ।’ उहाँका अनुसार, रत्ननगर–१ सौराहाचोकबाट उत्तरतर्फको सार्वजनिक जग्गा संरक्षणसँगै व्यवस्थापनको काम सुरू गरिएको छ । जग्गा व्यवसायीले प्लटिङ गर्ने तयारी गरेको र स्थानीय जियना चौधरीले भोग चलन गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले अधिग्रहण गरी संरक्षण गरेको हो ।

प्रतिक्रिया दिनुहोस