‘नेकपा’ प्रचण्ड–माधव समुहले आज देशभर खुसीयाली मनाउँदै

काठमाडौंमा १२ बजे शान्तिवाटिकाबाट विजय ¥याली निकालिने, ४ बजे संसदीय दलको बैठक बस्ने

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ०८ : ४२
‘नेकपा’ प्रचण्ड–माधव समुहले आज देशभर खुसीयाली मनाउँदै

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्रीको असम्वैधानिक प्रतिनिधीसभा विघटनको निर्णयलाई बदर गरेर संसद पूर्नस्थापना गरिदिएपछि नेकपाको प्रचण्ड नेपाल समुहले आज देशभर खुसीयाली मनाउँदै छ ।

अदालतको निर्णयसँगै हिजै साँझ देखि सडकमा विजय जुलुस निकाल्ने, दिपावली गर्ने काम स्वस्फूर्त गरिसकेको प्रचण्ड माधव नेपाल समुहले आज भने देशैभर विजय जुलुस निकाल्ने र विजय सभा आयोजना गर्ने तयारी गरेको छ ।

केन्द्रीय संर्घष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य पम्फा भुषालले १२ बजे काठमाडौंको शान्तिवाटिकाबाट विजय र्याली निकाल्ने कार्यक्रम तय भएको बताइन् । ‘हामी आज १२ बजे शािन्तवाटिकाबाट विजय र्याली निकाल्ने तयारी गरिरहेका छौं, यो जनताको जित भएको छ ।

संविधानवादको जित भएको छ । यसको खुसीयालीमा हामी प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी सबैलाई विजय उत्सव मनाउन आग्रह गरिरहेका छौं,’ नेतृ भुषालले भनिन । विजय र्यालीमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने भएका छन् ।

हिजै चितवन पुगेका प्रचण्ड र माधव नेपाल आज बिहान ९ वजे चितवनबाट काठमाडौं फर्किदैछन् । काठमाडौं फर्केसँगै अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल दुवै जना नेता विजय र्यालीमा सहभागी हुने छन् । विजय र्याली पछि र्यालीलाई प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने छन् । दिउँसो ४ बजे नेकपाले संसदीय दलको बैठक बोलाएको छ । वैठकले अब अब कसरी जाने भन्ने विषयमा छलफल गर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस