पर्वतका मुख्य ग्रामीण सडकका खोलामा धमाधम पुल निर्माण

रासस

सोमबार, १० फागुन २०७७, १३ : ०२
पर्वतका मुख्य ग्रामीण सडकका खोलामा धमाधम पुल निर्माण

पर्वत । पर्वतका मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रही आएको छ ।ग्रामीण सडक वर्षात्का करीब तीनसम्म स्थानीय नदी तथा खोलामा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।

चालू वर्ष मात्रै पर्वतका करीब आधा दर्जन मुख्य खोला नदीमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आवतजावत गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यकासाथ गत वर्षदेखि शुरुआत भएका सबैजसो पक्की पुल आगामी २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फलेबासको अर्चले–भङ्गरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा–२ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।

गत महिना कुस्मा नगरपालिका–३ अम्बोटखोला र मोदी गाउँपालिका–६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् ।

मोदी गाउँपालिका–१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ जोड्ने भुरुङ्दी खोला पुल यसै वर्षभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशी विदेशी पर्यटकको यात्रामा सहज हुनेछ 

पूर्वाधार कार्यालयले चालू वर्षमा सकिने गरी पैँयु गाउँपालिका–७ मा शेरा खोला, पैँयु–४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्षमा नै सक्नेगरी तीव्ररुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाँघीसकेको छ ।

    

प्रतिक्रिया दिनुहोस