काँग्रेस सभापति देउवाले मुख्यमन्त्री शेरधन राईलाई साथ दिने गरी किन गरे त्यसरी फोन ?

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, ०८ : ४७
काँग्रेस सभापति देउवाले मुख्यमन्त्री शेरधन राईलाई साथ दिने गरी किन गरे त्यसरी फोन ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गर्दा समेत मौनता साँधेर बसिरहेका काँग्रेस सभापति शेरबहादुर देउवाप्रति काँग्रेसकै नेताहरु आशंकाले हेर्छन् । उनले कतै प्रधानमन्त्री केपी ओलीसँग कुनै भागवन्डाको सम्झौता गरिसकेका त छैनन् ? किन उनी असम्वैधानिक कदमको विरोधमा बोल्न सक्दैनन् ? यो प्रश्न काँग्रेसभित्र बहसको विषय बनेको छ ।

तर देउवाले अदालतमा पुगेको मुद्दामा काँग्रेसले धेरै बोल्न नहुने, अदालतलाई निर्णय गर्न दिनुपर्ने र सडक आन्दोलनमा आउन काँग्रेससँग पैसा नभएको जस्ता टिप्पणी गरेर काँग्रेसमा ओलीगमनका विरुद्ध आन्दोलनमा जानुपर्ने भन्ने आवाजलाई देउवाले टार्दै आईरहेका थिए । आफुमाथी आशंका गर्ने नेतालाई देउवाले प्रतिजवाफ दिँदै भन्थे,–‘मलाई पार्टीकै नेताहरुले प्रतिनिधीसभा पूनस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्तो आरोप लगाउने काम भएका छन् । मैले प्रतिनिधीसभा पूर्नस्थापना हुनुहुदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्चको फैसला कुरौं मात्र भनेको हो ।

ओलीले मलाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’ देउवाले आफ्नै पार्टीभित्रबाट आफनो चरित्रहत्या गर्ने काम भईरहेको भन्दै गत केन्द्रीय समिति बैठकमा यस्तो प्रष्टिकरण दिएका थिए । तर देउवाले त्यस्तो प्रष्टिकरण दिएपनि उनको साँठगाँठ ओलीतिर रहेको आइतबारको एक घटनाले प्रमाणित गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गराएको महिना दिन बढी भईसकेको थियो ।

मुख्यमन्त्री शेरधन राईका लागि सभापतिकै टेलिफोन आएर बैठक रोक्न निर्देशन आउनुले ओलीसँग देउवाले साँठगाठ गरेको पुष्टि गरेको ति नेताले सफलखबरलाई बताए । देउवा अहिले चुनावको रटान लगाईरहेका छन् ।

तर सत्तामा बस्नेहरुले नै संसद बैठक चल्न नदिई निरन्तर अवरोध गरिरहदा प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल हुन सकिरहेको थिएन् । आइतबार सभामुखले अविश्वास प्रस्ताव अगाडी बढाउने कार्यसूचि प्रदेशसभा वैठकमा राख्ने गरी तोके । तर मुख्यमन्त्रीले त्यसलाई अवरोध पु¥याउन अनेक जोडवल गरे । त्यही क्रममा देउवा सम्मको फोन काँग्रेस सांसदलाई पुगेको थियो । 

त्यसपछि भने देउवाको ओलीसँगको साँठगाँठ नै रहेको खुलेको प्रदेश १ का काँग्रेस सांसदहरुका बीचमा चर्चा चल्न थालेको छ । प्रदेश सभा बैठक रोक्न मुख्यमन्त्री राईले प्रदेश प्रमुख सोमनाथ प्यासी देखि काँग्रेस सभापति देउवासम्मलाई प्रयोग गरेका थिए । प्रदेश प्रमुख सम्म प्रयोग गर्दा सम्म बैठक रोक्न नसकेपछि मुख्यमन्त्री राईले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई फोन गरेर ‘एक साताका लागि बैठक रोक्न मुख्य विपक्षी दलले सभामुखसँग समय माग गरिदिन प¥यो’ भन्ने आग्रह गरेका थिए । 

तर उनले नमानेपछि राईले देउवा पक्षका प्रदेशसभाका सांसदहरुसाग रोइकराई गरे । देउवा पक्षका नेता तथा संसदीय दलका उपनेता हिमाल कार्की, शेखरचन्द्र थापा लगायतलाई मुख्यमन्त्रीले फोन गरेर एक साता बैठक रोक्न आग्रह गरेका थिए । तर पनि राई सफल हुन सकेनन् । त्यसपछि भने सिधै शेरबहादुर देउवाले नै काँग्रेस संसदीय दलका नेता कोइरालालाई टेलिफोन गरी एक साताका लागि बैठक रोक्न लगाउनुस् भन्दै टेलिफोन गरेका थिए । तर प्रदेश संसदीय दलका नेता कोइरालाले सभापति ज्यू सर्वदलीय बैठक बसेर बैठक गर्ने निर्णय भएको र कार्यसूचि पनि आईसकेको भन्दै टेलिफोन अलिक ढिला आएको जवाफ फर्काईदिएका थिए । 

‘सभापति ज्यूले हाम्रो दलका नेतालाई टेलिफोन गरेर प्रधानमन्त्रीले आग्रह गर्नुभयो, तपाईले लौन भनिदिनुपर्यो एक साताको समय लिन भनेर भन्नुभयो । ठिकै छ,  एक साता बैठक रोक्न लगाउनुस् भनेर निर्देशनात्मक शैलीमा सभापतिको टेलिफोन आएको थियो, तर प्रदेशसभा दलका नेताले सर्वदलीय बैठक गरेर बैठक गर्ने निर्णय गरिसकेको र कार्यसूचीसमेत आइसकेको छ, तपाइँको निर्देशन अलि ढिला आयो सभापति ज्यू भनेर भनिदिनुभयो, त्यसपछि कुरै सकियो ।’ 

मुख्यमन्त्री शेरधन राईका लागि सभापतिकै टेलिफोन आएर बैठक रोक्न निर्देशन आउनुले ओलीसँग देउवाले साँठगाठ गरेको पुष्टि गरेको ति नेताले सफलखबरलाई बताए । देउवा अहिले चुनावको रटान लगाईरहेका छन् । हुँदै नहुने चुनावमा देउवाको यति विघ्न मोह, असम्वैधानिक रुपमा ओलीले गरेको सम्वैधानिक नियुक्तिमा मिलाएको भागवन्डा र प्रदेश सरकारहरुमा भागवन्डा जस्ता विषयमा ओलीको जालमा देउवा परेको काँग्रेसकै नेताहरु आशंका गरिरहेका छन् । त्यसैलाई पुष्टि हुने गरी देउवाले प्रदेश १ को प्रदेशसभा बैठक एक साता रोक्न निर्देशन दिनुले कतै देउवा ओली भित्री साँठगाँठ केही भएको त छैन ? भन्ने आशंका गर्ने ठाँउ भने जन्माईदिएको छ ।