भारतद्धारा काबुल आक्रमणको निन्दा

विहीबार, ०८ चैत्र २०७४, १८ : २८
भारतद्धारा काबुल आक्रमणको निन्दा

नयाँदिल्ली । बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा पर्सियाली समुदायले नयाँवर्ष मनाउन आयोजना गरिरहेको एक समारोहमा विस्फोटक पदार्थले आक्रमण गरी ३३ जनाको हत्या गरिएको थियो ।

नयाँवर्ष मनाउन आयोजित सो समारोहमा मारिनेमा अधिकांश किशोरकिशोरी परेका बताइएको छ । उक्त बम हमलाको घटनामा परी अरु कम्तिमा पनि ५२ जना घाइते भएका छन् । भारतीय विदेशमन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो आतंककारी हमलाको निकै कडा शब्दमा निन्दा गरिएको छ ।

सो विज्ञप्तिमा भनिएको छ– नागरिकले आफ्नो संस्कार संकृति मनाउन र शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना क्रियाकलापहरु गर्न पाउने अधिकारविरुद्धको यो जघन्य अपराध हो । यस घटनाको इस्लामिक स्टेट् समूहले जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिबान समूहले भने यस घटनामा आफ्नो संलग्नता नरहेको जनाएको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस