प्रचण्डको सुरक्षामा पूर्वलडाकु

पत्रपत्रिकाबाट

विहीबार, ०६ फागुन २०७७, ०७ : ३८
प्रचण्डको सुरक्षामा पूर्वलडाकु

काठमाडौँ । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।

दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । यसरी खटिएका पूर्वलडाकुको ‘ड्रेस कोड’ पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए । 

हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वलडाकुसमेत रहेका दाहाल–नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताए । दुलाल नेकपाका तर्फबाट वाग्मती प्रदेशसभा सदस्य हुन् । नेकपाको आन्तरिक विवादपछि उनले वाग्मती प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए । ‘सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष जो जनयुद्धका कमान्डर पनि हुनुहुन्छ, उहाँको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी कटौती गरेर ह्युमिलिएट र ह्यारेसमेन्ट गरेको छ, सरकारको यो निर्णयले प्रचण्डको सुरक्षामा झनै थ्रेट भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘यसअघि नेपाल प्रहरीबाट अगुवा सुरक्षामा खटिएको गाडीको सट्टा पूर्वजनमुक्ति सेनाको टोली खटिन थालेको छ ।’

यसरी खटिएका पूर्वलडाकुको ‘ड्रेस कोड’ तोक्ने तयारी रहेको स्रोतको भनाइ छ । दुलालले पूर्वप्रधानमन्त्री दाहालको निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर पूर्वलडाकु खटिएको बताए । सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गरेपछि दाहालले निकटस्थसँग असन्तुष्टि जनाएको स्रोत बताउँछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस