केन्द्रीय समिति घोषणा गरे लगत्तै किन पुगे वामदेव बालुवाटार ?

सफल खबर संवाददाता

सोमबार, ०३ फागुन २०७७, १० : ०५
केन्द्रीय समिति घोषणा गरे लगत्तै किन पुगे वामदेव बालुवाटार ?

काठमाडौं । नेकपा विभाजनमा कैत नलाग्ने र पार्टी एकता राष्ट्रिय अभियान चलाउने उदघोष गरेका नेता वामदेव गौतमले एकता अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्य सम्पादन समिति चयन गरेका छन् । आफुलाई संयोजक, पूर्वमन्त्री हरि पराजुलीलाई सहसंयोजक र बाबुराम थापालाई सचिवका रुपमा चयन गर्दै उनले ६६७ जनाको केन्द्रीय समन्वय समिति घोषणा गरेका छन् ।

सचिव थापाले घोषणा गरिएका नामावलीको सर्कुलर समेत गरिसकेका छन् । केन्द्रीय समिति घोषणा गरेलगत्तै गौतम भने गोप्य रुपमा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । उनले त्यहाँ प्रधानमन्त्री ओलीसँग झण्डै तीन घण्टा लामो सम्वाद गरेर फर्किएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा विभाजन देशका लागि अहिले आवश्यक नरहेको र पार्टी विभाजनमा ओली र प्रचण्ड दुवै बराबरी दोषी रहेको भन्दै गौतम अहिलेसम्म कुनै पनि पक्षमा लागेका छैनन् । तर उनका गतिविधि भने एकता राष्ट्रिय अभियानका नाममा संगठन निर्माण प्रयास गर्ने र त्यसैको बलमा बार्गेनिङ गर्ने देखिन थालेको छ ।

एकातिर केन्द्रीय समन्वय समिति घोषणा गर्ने र त्यो नेताहरुलाई सर्कुलर हुन नपाउँदै प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाने कदमले उनको भूमिका रहस्यमय बनाईदिएको छ । बालुवाटार गृहमन्त्री रामबहादुर थापाको भूमिका र बोलीबाट आजित भईरहेका वेला गौतमलाई बालुवाटारले निम्तो दिएर असन्तुष्टिका बेला बोलाईनुलाई अर्थपूर्ण रुपमा लिनुपर्ने पनि बताइन थालेको छ ।

तर जे होस गौतमले हिजो आईतबार दिउँसो प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर झण्डै तीन घण्टा गोप्य भेटघाट गरेका छन् । भेटमा भएका छलफलका विषय गोप्य राखिएका छन् । दुवै पक्षले भेट भएको पुष्टि गरेपनि भेटमा भएका कुराकानीका बारेमा केही खुलाएका छैनन् ।

गौतमलाई आफुतिर आउन, आफुपछिको नेता बन्न र सरकारमा पनि उपप्रधान सहित रोजेको मन्त्रालय लिन ओलीले आग्रह गरिरहेका छन् । हिजोको सम्वादमा पनि गौतमलाई चुनावी सरकारमा गृहमन्त्री अलिक बलियो नेताले सम्हाल्नुपर्ने र गौतम आए उपसहितको गृह मन्त्रालयको जिम्मेवारी दिएर जान आफु तयार रहेको जानकारी गौतमलाई ओलीले गराएको स्रोतहरुको भनाई छ । गौतमले ओलीसँग भने आफुलाई पार्टी अध्यक्ष दिन माग गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस