पशुपतिनाथमा चाँदी हटाएर सुनको जलहरी

पत्रपत्रिकाबाट

सोमबार, ०३ फागुन २०७७, ०७ : ५६
पशुपतिनाथमा चाँदी हटाएर सुनको जलहरी

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पगालिएको छ। चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला पशुपति क्षेत्र विकास कोष र प्रधानमन्त्री केपी शर्मा ओलीको ढिपीकै कारण त्यसलाई सुनमा परिणत गरिएको हो।  

तीन दिनयता जलहरीमा सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ। जलहरि फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ। जलहरि बनाउन एक सय आठ किलो सुन प्रयोग हुने बताइएको छ। उक्त सुन पगालेर  

जलहरीको आकार तयार हुनेछ। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए। ‘यो निकै संवेदनशील कार्य हो। कोषले निकै सावधानी अपनाएर जलहरी बनाउन कालीगढ खटाएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते चाँदीको जलहरीलाई सुनको जलहरीमा परिवर्तन गर्न निर्देशन दिएपछि कोष काम थालेको थियो।’ ओलीले जलहरि राख्न ३० करोड रुपैयाँ दिने प्रतिबद्धता  दिएपछि कोषले जलहरि राख्ने कार्य अघि बढाएको उनले बताए।

जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ। पुरानो जलहरीमा खिया लागेको र चाँदीको भएकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तर्क कोषले गर्दै आए पनि मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन्। उनीहरूले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन्। पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत पनि मानिन्छ। स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप गर्न निषेध गरेको छ। तर सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको शिवलिंगमा सुनको जलहरि राख्ने कार्य जबर्जस्त अघि बढाइएको जनाइएको छ।

मन्दिरका पुजारी, स्थानीय र सरोकारवालाले भने सुनको जलहरी राख्न नदिने बताएका छन्। ऐतिहासिक महŒव बोकेको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान उनीहरूको छ। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोषको ढिपीले मन्दिरमा ऐतिहासिकता भत्काउने काम भएको बताए। ‘सम्पदा  भनेको मौलिकता हो, सुनको राख्दैमा यसको महŒव बढ्ने होइन, महत्व त पुरानोकै हुन्छ,’ उनले भने।

सरकारले मन्दिरमा एक वर्षअघि नै जलहरी राख्ने योजना बनाएको थियो। एक वर्षअघि पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका भारतीय मूलका एक व्यापारीले एक अर्ब सहयोग गर्ने बताएका थिए। सहयोग आउने भएपछि कोषले उक्त जलहरी राख्ने तयारी अघि बढाएको थियो। ओलीको निर्देशनपछि कोषले सुनको जलहरी राख्ने प्रक्रिया अघि बढाएको छ। पशुपतिनाथ मन्दिरका पालोवाला भण्डारी विजयराज भण्डारीले सम्पदाको मौलिकता सबैभन्दा मुख्य विषय भएकाले त्यसतर्फ ख्याल गर्नुपर्ने बताए। ‘सुनको राखेर जलहरीको मूल्य बढ्ने होइन तर राख्दा त्यति छलफल भएन।’  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस