संयुक्त सैन्य अभ्यासबाट किम भड्किने त होइनन् !

विहीबार, ०८ चैत्र २०७४, ०६ : ५३
संयुक्त सैन्य अभ्यासबाट किम भड्किने त होइनन् !

कोरियाली प्रायद्वीपमा लामो समयदेखि जारी तनाव कम गर्ने लगातार प्रयास भइरहेको छ । उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिका सम्बन्धमा जमेको हिउँ पगाल्न जुटेका छन् ।

यी प्रयासका बीच अमेरिका र दक्षिण कोरियाली सेना अप्रिलको सुरुवातबाट सैन्य अभ्यास गर्न गइरहेका छन् । यद्यपि दुवै देशले यो सैन्य अभ्यासलाई उत्तर कोरियालाई भड्काउने अभ्यासका रुपमा नहेर्न आग्रह गरेका छन् ।

मार्च महिनामै शुरू गरिने भनिएको सैन्य अभ्यास विन्टर ओलम्पिकको आयोजनाका दौरान राजनीतिक सम्बन्धमा आएको सुधारलाई मध्यनजर गरेर मिति सारिएको थियो ।
अप्रिल १ बाट तीन लाखभन्दा बढी सुरक्षाबल ठूलो मात्रामा सैन्य सामग्रीका साथ अमेरिकी र दक्षिण कोरियाली सेना एकसाथ अभ्यास गर्ने भएका छन् । यसअघि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुँदै आएका यस प्रकारको सैन्य अभ्यासहरुलाई आफुविरुद्ध आक्रमणको तयारीका रुपमा हेर्ने गर्दथ्यो ।  

यसै महिनाको शुरुआतमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शीर्ष नेता किम जोंग–उनको भेटवार्ताको आमन्त्रण स्वीकार गरेका थिए ।

उनको यस कदमले अन्तर्राष्ट्रिय जगतलाई आश्चर्यचकित पारिदिएको थियो । यसलाई कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने अभूतपूर्व राजनीतिक प्रयासका रुपमा हेरिएको थियो ।

दक्षिण कोरियाका अधिकारीहरुका अनुसार उत्तर कोरियाले पनि आफ्नो परमाणु हतियार छोड्ने प्रतिबद्धता जनाएको छ । यसबारेमा उत्तर कोरियाका तर्फबाट कुनै पनि आधिकारिक प्रतिक्रिया आएको छैन् । तर यदि वार्ता अगाडि बढे पहिलोपटक कुनै मौजूदा अमेरिकी राष्ट्रपति उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्नेछन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस