जीवा लामिछानेका दुई पुस्तकमाथि छलफल

सूर्यप्रकाश कँडेल

शुक्रबार, ३० माघ २०७७, १७ : ५१
जीवा लामिछानेका दुई पुस्तकमाथि छलफल

चितवन । नियात्राकार जीवा लामिछानेका दुई पुस्तक सर्सर्ती संसार र देश देशावरमाथि शुक्रबार नारायणगढमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सम्पूर्ण किताब नारायणगढको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै व्यवसायी एवं नियात्राकार लामिछानेले आफू व्यवसायी नै भएको र नियात्रा लेखन रहरमात्र भएको बताए । उनले २०३७ सालमा नौ कक्षा पढ्दा विद्यालयको स्मारिकामा पहिलो पटक निबन्ध प्रकाशित भएको स्मरण गरे ।

भ्रमणको क्रममा डायरी लेख्ने बानीले पुस्तक प्रकाशन सम्भव भएको उनको भनाइ थियो । उनले आफूले लेखेका भावना १ सय ५० जति डायरीमा रहेको बताए । ‘ल्यापटपमा टाइप गर्न थालेको चार वर्ष जति भयो’ उनले भने, ‘मेरो लेखनी औसत छ । सूचना र अनुभूति मिसाएर लेख्ने गरेको छु ।’

कार्यक्रममा सर्सर्ती संसार र देश देशावरमाथि साहित्यकारहरु डिआर पोखरेल, धनराज गिरी, गोविन्दराज विनोदी, एलबी क्षेत्री, डा. मतिप्रसाद ढकाल, कपिल अज्ञात, उदय अधिकारी लगायतले चर्चा गरेका थिए । पत्रकार एवं लेखक विनोदबाबु रिजालले सहजीकरण गरेको कार्यक्रममा सम्पूर्ण किताबका लेखराम सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस