पिसाब गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १४ : ५२
पिसाब गर्न निस्किएकी बालिकामाथि सामूहिक बलात्कार

विराटनगर । घरबाट राति पिसाब गर्न निस्किएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिका राति ९ बजे पिसाब गर्न घर बाहिर निस्कदा दुई जना युवाले जबर्जस्ती मोटरसाइकलमा राखेर घरदेखि केही पर लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । 

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । चारैतिर हल्ला फिँजिएपछि बलात्कारी समूहले बालिकालाई घर छेउमा ल्याएर छोडी फरार भएको प्रहरीले जनाएको छ ।

करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटनामा को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाका अनुसार चारैतिर हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारततर्फ भागे ।’ घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ ।  घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ ।