महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

रासस

बुधबार, २८ माघ २०७७, ०८ : २३
महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

काठमाडौ. । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन् । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।  

CG Hills

 विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा पुरुषोत्तम दाहालले जानकारी दिए । यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेम सागरी देवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनुभएका ज्ञानु प्रसाईँ सम्मानित भएका छन् ।

विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।पुरस्कार चयनका लागि डा विमल कोइरालाको संयोजकत्वमा डा दिनेश भट्टराई, डा कुमार कोइराला, दुर्गा घिमिरे र प्रा नवेन्द्र निधि रहेको  समितिले माघ २४ मा बसेको बैठकले गरेको चयन अनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।