महासङ्घको बैंक तथा वित्तीय समिति विस्तार

रासस

मंगलबार, २७ माघ २०७७, २१ : ०७
महासङ्घको बैंक तथा वित्तीय समिति विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता हुनुहुन्छ । 

कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी हुनुहुन्छ ।

त्यसैगरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासङ्घको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ । 

समिति विस्तार कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति महासङ्घको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने छ भन्नुभयो ।

अध्यक्ष गोल्छाले महासङ्घले छिट्टै नै बैंकिङ, कर राजश्व, श्रमलगायतका समस्यालाई सम्वोधन गर्न महासङ्घभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच विगतमा तनावको अवस्था आउने गरेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई अध्ययन गरी समितिले सुझाव तयार गनु पर्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस