अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई

रासस

मंगलबार, २७ माघ २०७७, ०९ : ४६
अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई

काठमाडौं । अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक साहित्यकारद्वय वीर नेम्वाङ र प्रा डा गोविन्दराज भट्टराई पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कार सहित सम्मान गरे । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन  भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।

सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरुमा आक्रोश मात्रै पैदा गराएको भन्दै उनले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताए ।

पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा डा भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त हुनु  । सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस