फासीवादको यात्रामा खड्गप्रसाद ओली

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १५ : १६
फासीवादको यात्रामा खड्गप्रसाद ओली

काठमाडौँ । संसद विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री खड्गप्रसाद ओली क्रमशः सामाजिक फासीवादको यात्रामा लागेको उनका पछिल्ला गतिविधिले प्रष्ट पारेका छन् । नेपाली जनतालाई भुसुना बराबर पनि नठानेका ओलीले अगाडि सारेको गतिविधि तथा चरित्रले पनि सोही कुराको पुष्टि गर्दछ । 

राष्ट्रवादको कथित नारा दिएर सरकारमा पुगेका ओलीले गत पुस ५ गते संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर प्रतिनिधि सभाको विघटन गरे । त्यसलाई हेर्दै नहेरी राष्ट्रपतिले पनि सदर गरिदिइन् । ओलीले हुनै नसक्ने प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे । खड्ग ओलीलाई राम्रोसँग थाहा छ वैशाखामा निर्वाचन हुँदैन र गर्न सकिँदैन । सोही गर्न नसकिने र नहुने निर्वाचन घोषणा गरेर उनले मुलुकलाई अन्धकारमा धकेलेका छन् । प्रतिगमनमा धकेलेका छन् । 

राजनीतिक विश्लेषकहरू भन्छन्, आफू भए ठीक, अरू भए बेठीक तथा कुर्सी नै भाँचिदिनेसम्मको षड्यन्त्र गरे । विगतमा राजा ज्ञानेन्द्रको शैलीमा उनले देशलाई अराकजतामा धकेले । जुन राजनीतिक रूपमा अराजकता, संवैधानिक रूपमा गैरकानुनी तथा सामाजिक रूपमा फासीवादतर्फको यात्रा हो । ओली आफू मात्र ठीक अरू सबै बेठीक भन्ने हठ देखाएका छन् । 

उनले जुनखालको व्यवहार देखाएका छन् त्यसले उनलाई पतनको दिशामा नै अगाडि बढाएको छ । ढिलोचाँडो न हो, ओली इतिहासको गर्तमा नराम्ररी फालिनेछन् । उनले ज्ञानेन्द्रले भन्दा ठूलो हानि नेपाली जनताका सामु बेहोर्नुपर्नेछ । तानाशाहहरू नेपाली जनताका सामु नहारेको इतिहास नै छैन । 

नेपालमा मात्रै होइन संसारभर नै जनताका विरोधी पतन नै भएका छन् । उनीहरू इतिहासको कालो पानामा सीमित भएका छन् । खड्ग ओलीले पनि आफूलाई जनविरोधी कित्तामा उभ्याएका छन् । उनी भन्दैछन्, ‘मैले देशका लागि गरेँ, जनताका लागि गरेँ । नेपालको संविधनले प्रधानमन्त्रीलाई कुनै पनि हिसाबले प्रतिनिधि सभाको विघटन गर्ने अधिकार दिएको छैन । संसदमा बहुमत जुटाउन नसकेको अवस्थामा मात्रै विभिन्न तह पार गरेपछि मात्रै विघटन गर्ने व्यवस्था छ । 

संविधानले परम्परागत संसदीय व्यवस्थाभन्दा सुधार गरेर केही नेपाली मौलिकतामा आयाम थपेको छ । ती सबै विषय संविधान निर्माणको क्रममा सबैले स्वीकार गरेको विषय हो र थियो । तर असंवैधानिक कदम चालेका ओलीले नेपाली जनताले ७० वर्षदेखि लडेर आफैले आफैका लागि निर्माण गरेको संविधानलाई रद्दीको टोकरीमा फालिदिएका छन् । 

संविधान मिचेका ओलीले पछिल्ला दिनमा त जनतामाथि दमन गर्ने योजना बनाएका छन् । उनले अफ्ना विरोधी सिध्याउने योजनासमेत अगाडि सारेका छन् । जानकारहरूका अनुसार उनले अख्तियारमा भर्ती गरेका प्रेमकुमार राईमार्फत केही नेतालाई भ्रष्टाचारी करार गर्ने योजना बनाएका छन् । भ्रष्टाचारी करार गरेर कारबाही गर्ने र केहीलाई विभिन्न काण्डमा फसाउने साजिससमेत गरेका छन् । 

जसरी भए पनि विरोधी सिध्याउने योजनामा लागेका ओलीले केहीलाई भने अनेकन हत्कण्डा लगाउने षड्यन्त्रसमेत गरेका छन् । उनले कहीलाई देशद्रोही करार गर्ने योजनासमेत बनाएका छन् । राज्यका सबै संयन्त्रलाई नकाम बनाएर आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने तथा ती संयन्त्रलाई विरोधी सिध्याउने योजनामा प्रयोग गर्न लागिएको छ । 

लोकतन्त्र भनेको बहुमतको शासन, अल्पमतको प्रतिपक्ष हो । तर पार्टीका कुनै पनि निकायमा बहुमतमा नरहेका ओलीले ९० प्रतिशतभन्दा बढी जनमतलाई कुल्चने प्रयास गरेका छन् । लोकतन्त्रका कुनै पनि विधि तथा मान्यतालाई अस्वीकार गरेर म नै राज्य हो, म नै कानुन हो, म नै आदेश हो भन्ने शैलीमा गतिविधि गरिरहेका छन् । यसले नेपाली जनतालाई एकाध दिन त असजिलो होला, केही दिन नेपाली जनताले हण्डर खानुपर्ला । तर अन्त्यमा ओली र उनको प्रवृत्तिले हार्नुपर्नेछ । हारेको दिन ओली र उनका गिरोहले बाससमेत नपाउने अवस्था आउनेछ । 

तथ्यहरूले प्रमाणित गर्दै लगेको छ, ओली इतिहासमा बदनाम पात्रका रूपमा चित्रित भइसकेका छन् । आफ्ना सहकर्मीलाई असाध्यै तल्लो स्तरको गाली गर्ने, होच्याउने, अपमान गर्ने तथा उनीहरूलाई एउटा कामदारभन्दा पनि तल्लो स्तरको व्यवहार गर्ने गरेका छन् । उनले दम्भ देखाएका छन् । तर आफूलाई बा भनाउनेहरूलाई राज्यको स्रोतमा लुटपाट गर्न छुट दिएका छन् । राज्यस्रोतको दोहन गरिएको छ र लुट गर्न  छुट दिइएको छ ।

पछिल्ला दिनमा उनले देखाएको लुटपाट र त्यसले नेपाली समाजमा पारेका प्रभाव हेर्ने हो भने उनको अवस्था के हो भन्ने प्रष्ट देखिन्छ  । राज्यका स्रोतमाथि यती समूहले मच्चाएको लुट, सुन प्रकरणमा रामबहादुर थापाहरूले गरेको अदृश्य सौदाबाजी, निर्मला पन्तका बलत्कारी र हत्यारालाई जोगाउन गरिएको प्रपञ्च, कोरोना महामारीमा गरिएको राज्यलुट नेपाली जनताले भुलेका छैनन् । यी सबै काममा ओली र उनको गिरोह प्रत्यक्ष रूपमा परिचालित छ । 

विगतमा त प्रमुख प्रतिपक्षी नै नभएको अवस्था थियो । आज क्रमशः नेकपाको संस्थापन पक्ष तथा प्रमुख प्रतिपक्षी दल, मधेसवादी दल, आदिवासी, जनजाति, नागरिक समाज तथा देशका समग्र पक्ष ओलीको विरोधमा केन्द्रित भएको छ । उनीहरू सबै ओलीको एकमनावादी प्रवृत्तिका विरुद्ध एकाकार भएका छन् । संविधान मिचेको विषयमा समाजका सबै पक्ष विरोधमा उत्रिएका छन् । राजनीतिलाई धमिल्याएकामा देशका सरोकारवाला सबैले आपत्ति जनाएका छन् । संविधानलाई सही मार्गमा ल्याउनु नै आजको प्रमुख आवश्यकता हो । 

लोकतन्त्रका मूल्य र मान्यतालाई स्थापित गर्नु आजको प्रमुख लक्ष्य हो । संविधान र लोकतन्त्रका मूल्य तथा मान्यताविरुद्ध गएका खड्ग ओलीलाई कारबाहीको दायरामा ल्याउनु नै आजको प्रमुख कार्यभार हो । किनकि ओलीले नेपाली जनताको मतमाथि ज्यादती गरेका छन् । नेपाली जनताको विकास र समृद्धिको चाहनामाथि विश्वासघात गरेका छन् । उनले इतिहासको चक्कालाई पर हटाउने दुष्कर्म गरेका छन् । उनले नेपाली जनतामाथि गरेको ज्यादतीको पापको भारी त स्वीकार गर्नु नै पर्छ । कारबाहीको भागीदार हुनैपर्छ । 

नेपाली जनतामाथि ज्यादती गरेका ओलीलाई नेपाली जनताले बालुवाटारबाट निकालेर खेद्ने शक्ति राख्छन् । उनको घमण्डलाई चकनाचुर गर्ने साहस राख्छन् । उनको अपराधमाथि विजय हासिल गर्ने विश्वास पनि राख्छन् । उनले आफ्नो गल्ती स्वीकार गरेर, नेपाली जनतामाथि गरेको अपराधको प्रायश्चित्त गरे पनि उनीमाथि राजनीतिक कारबाही हुनुपर्छ र गरिनुपर्छ । 

राजनीतिक विश्लेषकहरू भन्छन्, ओलीले जुन खालको राजनीतिक अपराध गरेका छन् त्यसले नेपालाई इतिहासको अग्रगामी मोर्चाबाट १० वर्ष पर धकेलेका छन् । नेपालको समृद्धि र विकासको चाहनामाथि तातो पानी खन्याएका छन् । ओली र उनको गिरोहले नेपाली जनतामाथि थोपरेको तानाशाही अतिवादको प्रतिवाद सुरु भइसकेको छ । 

ज्ञानेन्द्रकालमा कमल थापा गृहमन्त्री थिए । उनले नेपाली जनतामाथि गोली दाग्ने आदेश दिएका थिए । यस्तै श्रीस शमशेर र टङ्क ढकालहरू सञ्चारमन्त्री थिए । उनीहरूले नेपाली जनताको मौलिक हक र अधिकारमाथि धावा बोलेका थिए । आज रामबहादुर थापाहरू ओलीको दम्भ जोगाउन जनतामाथि गोली हान्न आदेश दिएका छन् । नागरिक समाजमाथि बालुवाटारमा गरिएको दमन त्यसैको उपज हो । जनयुद्धका कमान्डरले सर्लाहीमा कुमार पौडेलहरू मारे । 

जनयुद्धका कमान्डर भनिएका लिन प्याओवादका अनुयायीले  निर्मला पन्तका बलत्कारी र हत्यारालाई जोगाइराखेका छन् । राज्यकोषको दुरुपयोग गरिरहेका छन् । अमेरिकामा पनि बलत्कार हुन्छ भनेर सामाजिक विकृति र मानवीय अपराधलाई बढावा दिएका छन् । विगतमा माओवादी फुटाएर प्रतिक्रियावादको उद्देश्य पूरा गर्न लिन प्याओवादका अनुयायी उनै रामबहादुर थापाहरू क्रान्तिको नाममा विचलित भएका थिए । जनयुद्ध सफलताको मार्गमा अगाडि बढिरहेको बेला मणि थापाहरू भागेका नै थिए । 

आज एकाध महिनाको जागिर खान र जागिर जोगाउनका लागि भन्दै केही स्वार्थीहरू ओलीको हनुमानगिरिमा लागेका छन् । भोलि ओली जनताको बलमा गलहत्याइँदा रामहादुरहरू, टोपबहादुरहरू र मणिहरूको हालत के होला ? आफ्ना नेता र नेतृत्वमाथि गोली हान्न आदेश दिनेहरू भोलि ओलीहरू पतनको दिशामा लाग्दा उनीहरूको हविगत के होला ? राजनीतिक विश्लेषकहरू भन्छन्, ओलीसँगै उनीहरूको पनि हालत पनि असाध्यै खराब हुने छ । 

नेपाली जनताले उनीहरूलाई दिने सजाय निर्मम हुनेछ र उनीहरू इतिहासको गर्तमा सीमित हुनेछन् । किनकि पाखण्डहरूले विगतमा पनि सजाय पाएका थिए । बहुदलकालमा पनि पाएकै थिए । गणतन्त्रकालमा त झनै पाउने नै छन् । किनकि उनीहरूले नेपाली जनताको विश्वास, चाहनामाथि घात गरेका छन् । आत्मसम्मानमा चोट पु¥याएका छन् । विकास र समृद्धिको चाहनामाथि हिलो छ्यापेका छन् ।

राजनीतिक स्थायित्वमाथि तातोपानी खन्याएका छन् । त्यसकारण ओली र उनको गिरोहमा सहभागी भएकाहरू कारबाहीको भागिदार छन् । किनकि ओली भ्रष्टाचारीका संरक्षक हुन् । ओली आर्थिक अपराधका मूल स्रोत हुन् । ओली अनियमितताका खास पात्र हुन् । ओली समाजिक विकृति र फासीवादका खास उदाहरण हुन् । उनलाई कारबाहीको दायरामा ल्याउनैपर्छ र नेपाली जनतामाथि गरेको गद्दारीको हिसाबकिताब लिनु नै पर्नेछ । 

नेपाली जनतामाथि धोका दिने, दमन गर्ने, विश्वासघात गर्ने तुलसी गिरी, कमल थापा, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, विजयकुमार गच्छदारहरू कारबाहीको भागिदार भएकै छन् । ज्ञानेन्द्र शाहले २५० वर्षको इतिहास भएको राजतन्त्र नै सिध्याउनुप¥यो । त्यसकारण यी र यस्ता तथ्यका आधारमा भन्दा ओली र उनको गिरोहको पनि पतन अनिवार्य छ । 

उनीहरू अब इतिहासको चक्रव्यूहमा फसिसकेका छन् । उनीहरू अपराधको माखे साङ्गलोमा परिसकेका छन् । उनीहरू नेपाली जनताको नजरमा अपराधी सावित भइसकेका छन् । त्यसकारण उनीहरूको चुरिफुरी अब निभ्न लागेको बत्ती जस्तै हो । अथावा भीरबाट लड्न लागेको गोरु जस्तै हो । भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकन्छि, काँध थाप्न सकिँदैन । अब ओली र उनको गिरोह पनि त्यस्तै अवस्थामा पुगेको छ ।